काठमाडौं, १३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता एवं प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले जहाज उड्न लायक छ कि छैन भनी टेस्ट नगरी कागजमा सिग्नेचर गरेर उडाउँदा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको बताएका छन् ।
आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त जहाजको चेकजाँचमा खेलवाड हुँदा १८ जनाले ज्यान गुमाउनुपरेको बताएका हुन् । उनले विमान उड्न लायक छ कि छैन भनेर यकिन नगरी नागरिक उड्यायन प्राधिकरणले उडान अनुमति दिएको भन्दै छानविनको माग गरे ।
‘महिनौंदेखि जुन जहाज ग्राउन्डेड छ, त्यसलाई विना टेस्ट उडाउने काम भएको छ । घरमा सात दिन साइकल राख्यो भने पनि यसो पाङ्ग्रा घुमाएर साइकल चलाउँछन् । जहाजमा खेलवाड भएको छ, त्यो आश्चर्य लाग्दो छ । टीआईएमा हेङ्गर खाली नै छ । टीआईएमा खाली नभएर पोखरा पठाइएको होईन,’– उनले भने ।
उनले उक्त घटनाको गहन अध्ययन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरे ।