Logo

नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्याएः एमाले महासचिव पोखरेल



काठमाडौं, १३ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् । संसद्का दुई ठुला पार्टी एमाले र नेपाली कांग्रेस एकथान सरकार बनाउने उद्देश्यले मात्र समझदारीमा नपुगेको उनले बताए । महासचिव पोखरेलले देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ कांग्रेस–एमालेको समझदारी बनेको बताए ।

एमाले ललितपुर जिल्ला कमिटीद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्याएको बताए । उनले समाज अगाडि बढाउने सन्दर्भमा देखिएका र अनुभव गरिएका संवैधानिक तथा कानुनी अफ्ठ्यारा हटाउन संविधान र कानुन संशोधन समेत गर्ने सहमति गरिएको बताए ।

महासचिव पोखरेलले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा र जनताको बहुदलीय जनवाद (जबज) विषयमा प्रशिक्षण दिँदै जबजको औचित्य समाप्त भयो भन्नु गलत रहेको बताए । मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजले राजनीतिक क्रान्तिपछिको बाटो पनि स्पष्ट रूपमा देखाइदिएको उनको भनाइ छ ।

‘विगतमा एमालेको नेतृत्व गरेका कतिपय कम्युनिष्ट नेताहरू पनि बेला–बेलामा जबजको औचित्य सकिएको कुरा गर्छन् तर जबजका विशेषताको बुँदा नं.९ मा हामी हिड्ने बाटो स्पष्टरूपमा लेखिएको छ,’– उनले भने ।

महासचिव पोखरेलले २०६२÷०६३ को राजनीतिक सफलतापछिको भविष्यको बाटो पनि जबजले देखाएको कुरामा स्पष्ट हुन र जबजको औचित्यका बारेमा अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गरे । महासचिव पोखरेलले उत्पादक शक्ति जति शक्तिशाली बनाउन सकियो त्यति छिटो समाजवाद आउने बताए ।

समाजवादमा पुग्नु अघि पुरानो समाज व्यवस्था÷उत्पादन सम्बन्धका अवशेष पूर्णरूपमा अन्त्य र बदलिएको उत्पादन सम्बन्धलाई बलियो बनाउँदै योजनाबद्ध ढङ्गले समाजवादका आधार तयार गर्नुपर्ने कुरालाई जबजले प्राथमिकता तोकेको उनको भनाइ छ । महासचिव पोखरेलले जबज अहिले पनि अत्यन्त सान्दर्भिक रहेको बताए ।

ृउनले नेपालको राजनीतिक परिवर्तन अन्य मुलुकको जस्तो नभई नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर गरिएको परिवर्तन भएकाले मार्क्सवादको प्रयोग पनि देशको विशेषताका आधारमा लागू हुन्छ भन्ने मान्यतामा जबजको विकास गरिएको प्रष्ट पारे ।

उनले २०६२÷०६३ को जनआन्दोलनको सफलतापछि राजनीतिक दलका नेताकार्यकर्ता समर्पण भन्दापनि व्यक्तिगत प्राप्ति र अवसरको खोजीमा लाग्न थालेको भन्दै चिन्ता व्यक्त गरे । ‘२०६२÷०६३ जनआन्दोलनको सफलतालाई राजनीतिक क्रान्ति भन्न सकिएला, समग्र क्रान्ति होईन,’– महासचिव पोखरेलले भने ।

उनले समाज बदल्ने कुरा नै राजनीतिक अभिष्ट रहेको बताउँदै उक्त कुरा सबै नेताकार्यकर्ताले मनन गर्नुपर्ने र आत्मविश्वासका साथ आफ्नो क्षमता पूर्णरूपमा प्रयोग गर्नुपर्ने बताए ।

परिवर्तनको विचार सम्प्रेषण नगरी समाज परिवर्तन नहुने हुँदा नेताकार्यकर्ताहरूमा विचारका प्रश्नमा प्रष्टता आवश्यक रहेको कुरामा महासचिव पोखरेले जोड दिए । विचारको पक्षमा निरन्तर बहस र छलफल आवश्यक रहेको उनले बताए ।

प्रशिक्षणमा महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता कसरी सिर्जना हुन्छ भन्ने सविस्तार चर्चा गर्दै समाजमा त्यसको प्रभाव सामाजिक अराजकताका रूपमा देखापर्ने बताए । एमाले ललितपुर जिल्ला कमिटीले यही साउन १० देखि १५ गते सम्म पार्टी स्कुल विभागको व्यवस्थापनमा दुई समूहमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र पालिका कमिटीका पदाधिकारीलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटव्यूरो सदस्यहरू आनन्द पोखरेल, ईश्वरी रिजाल, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, सदस्यहरू वाईपी आचार्य, प्रा.डा.तत्वप्रसाद तिमिल्सिना, रामशरण प्याकुरेल लगायत विषयविज्ञहरूले प्रशिक्षण दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्