काठमाडौं, साउन १४ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको विशेष पोलियो अभियान तीन दिन थप गरिएको छ। काठमाडौंसहित भक्तपुर र ललितपुरमा छुटेका बालबालिकालाई पोलियो थोपा खुवाउने उद्देश्यका साथ अभियान तीन दिन थप गरिएको हो।
पोलियो थोपा खुवाउन छुटेका जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर साउन १५ गतेसम्म अनिवार्य पोलियो थोपा खुवाउन आग्रह गरिएको छ। भक्तपुरमा सुर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका, चांगुनारायण नगरपालिका स्वास्थ्य शाखा र मध्यपुर नगरपालिका स्वास्थ्य शाखामा खोप केन्द्र सञ्चालन हुने जनाइएको छ।
यस्तै ललितपुरमा पाटन अस्पताल, अल्का अस्पताल, सुमेरु सिटी अस्पताल, बीएण्डबी अस्पताल, मेडिसिटी अस्पताल र किस्ट अस्पतालमा खोप केन्द्र सञ्चालन हुनेछ । काठमाण्डौंमा कान्ति बाल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल लगायत १३ वटा अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने भएको छ ।
अभियानमा २ लाख ३१ हजारभन्दा बढी बालबालिकाले पोलियो थोपा खाएका छन्। साउन ९ गतेबाट सुुरु भएको अभियानमा सरकारले २ लाख ८० हजार बालबालिकालाई पोलियो थोपा खुुवाउने लक्ष्य लिएको छ।