काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका सांसद दीपक गिरीले उच्च हिमाली जिल्लामा पाईने जडिबुटीको सहज रुपमा संकलन गरी निर्यात गर्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् ।
उनले भने,‘हाम्रो देशको कूल भूभागको ४५ प्रतिशत जमिन वन क्षेत्रले ओगटेको छ । नेपाल जडिबुटीके दृष्टिकोणले विश्वकै सम्पन्न देश हुँदाहुँदैपनि हालसम्म नेपालको उच्च हिमालयमा पाईने जडिबुटीको सुक्ष्म रुपमा अनुसन्धान नहुनु दुःखद् पक्ष हो । विश्वमा ६ हजारभन्दा माथिका उच्च हिमाली भू-भाग धेरै भएको देश नेपालमात्रै हो । जहाँ बहुमूल्य जडिबुटीहरु रहेका छन् । हाल हाम्रो देशको उच्च हिमाली जिल्लामा पाईने यार्सागुम्बा, जटामसी, पाँच औंलेजस्ता बहुमूल्य जडिबुटीको संकलन गरी निर्यात गर्न सहज छैन् । तसर्थ म यस सम्मानित सदनमार्फत नेपालको उच्च हिमालमा पाईने जडिबुटीको अनुसन्धान गर्न, जडिबुटीको सहज रुपमा संकलन गरी निर्यात गर्न र रक्तचन्दनजस्ता बहुमूल्य काठहरुको व्यवासयिक रुपमा उत्पादन गरी देशको अर्थतन्त्र बलियो बनाउन सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’