काठमाडौँ, १४ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ ।
भेटमा राजदूत सोङले ऊर्जा क्षेत्र नेपालको विकासका लागि महत्वपूर्ण र अपरिहार्य भएकाले यसको विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले वर्तमान सरकार मुलुकका दुई ठूला राजनीतिक दल मिलेर बनेकाले उक्त सरकारले विकासलाई अगाडि बढाउनेमा आफू पूर्ण आशावादी रहेको बताए।
भेटका क्रममा ऊर्जामन्त्री खड्काले कोरोना महामारीका समयमा बन्द रहेका चीनसँग जोडिएका नाका सञ्चालनमा ल्याउन गरेको सहयोगप्रति धन्यवाद दिए । “म पनि चीनसँग सीमानाका जोडिएको जिल्लाको निर्वाचित सांसद हुँ, चीनसँग जोडिएको नेपालका सीमानाकाका जनताको जीवनस्तर सहजीकरणका लागि नागरिकताबाट चीन प्रवेशको वातावरण मिलाई दिनुहुनेछ भन्ने आशा मैले लिएको छु,” उनले भने ।
चीनसँग नेपालले ऋण नभई अनुदान सहयोग चाहेको मन्त्री खड्काको भनाइ छ । ऊर्जामन्त्री खड्काले चीनले सामाजिक, आर्थिक र प्रविधिको विकासमा ठूलो फड्को मारेकाले यसको अनुसरण नेपालले समेत गर्न चाहेको उल्लेख गरे । रासस