काठमाडौं, १७ साउन । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सम्पदामैत्री घर र बाटोघाटो निर्माणमा जोड दिन आग्रह गरेका छन् । आज (बिहीबार) काठमाडौं महानगर पालिका वडा नम्बर–८ को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले घर र बाटोघाटोहरु सम्पदामैत्री भएमा मात्रै पर्यटकीय क्षेत्र राम्रो देखिने बताएका हुन् ।
‘विशेषगरी पशुपति क्षेत्र आफैंमा एउटा सम्पदा क्षेत्र भएको हिसाबले जसरी यो घरको मुहार देखिएको छ, आगामी दिनमा हाम्रा वडा अध्यक्षज्यूहरु, जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहकार्यले हाम्रो सम्पदामैत्री बाटाघाटाहरु र घरहरुको पनि अनुहार यस्तै देखियोस् भन्ने चाहना पनि छ । त्यसका लागि बजेट पनि राखिएको छ । घरहरु सम्पदामैत्री नेवा शैलीमा भयो भने अझै यो पर्यटकीय क्षेत्र राम्रो देखिने छ,’– उनले भने ।
उद्घाटन समारोहमा मेयर शाहले आफू लामो नबोल्ने बताए । उनले लगभग ५ मिनेटको समयमा आफ्ना भनाइहरु सकिसकेका थिए । बोल्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने उनले बताए । उनले राजनीतिक दलका पदाधिकारीहरु तर्फलक्षित गर्दै धेरै बोल्नेभन्दा पनि काममै समय दिन भने ।
‘धेरै बोल्न पनि चाहन्न । म अब निस्किन लागेको । उहाँहरुले बोल्दिनु भनेर, बोल्ने भन्दा पनि कामै गर्नुपर्छ भन्ने हो । उहाँहरुलाई गाह्रो छ, (राजनीतिक दलका नेताहरुतर्फ लक्षित गर्दै) उहाँहरुलाई त एउटा लामो लिस्ट पनि बोल्नुपर्दोरहेछ । जिल्ला सभापतिदेखि लिएर, महाधिवेशन प्रतिनिधिदेखि लिएर सबैको नाम लिँदालिँदा उहाँहरुको त समय त्यसैमा जाँदोरहेछ । त्यो भन्दा पनि काममै अब समय दिऊँ,’– उनले भने ।