काठमाडौं, २० साउन । झापाको कचनकवल गाउँपालिकाले यहाँका ३१ जना अपाङ्गता भएकालाई आज सहयोग सामग्री वितरण गरेको छ । गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले आर्थिक वर्ष २०८०/०८१ मा अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमकाअन्तर्गत सहायोग सामग्री वितरण गरेको हो ।
गाउँपालिकाले १४ जनालाई ह्वीलचेयर, दुईलाई वैशाखी, पाँच जनालाई श्रवण यन्त्र, एक जनालाई वाकर, चार जनालाई एल्बो कर्चेज, दुई जनालाई तीन पाङ्ग्र्रे साइकल, दुई जनालाई कम्बोर्ड चियर र एकलाई सेतो छडी प्रदान गरेको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारी दिए ।
सहायक सामग्री प्राप्त गरेपछि अपाङ्गता भएका व्यक्तिले आफ्नो दैनिक जीवनमा सहजता आउने आफूहरूको विश्वास रहेको अध्यक्ष राजवंशीले बताए । सहायक सामग्री प्राप्त गर्नेहरूले कार्यक्रमको निरन्तरताको अपेक्षा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । अध्यक्ष राजवंशी र उपाध्यक्ष नवराज भट्टराईले सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।