Logo

तेस्रो जनआन्दोलनको तयारीमा जुट्न कार्यकर्ता पँक्तिलाई प्रभु साहको निर्देशन, काठमाडौंमा ब्याक-टु-ब्याक कार्यक्रम



काठमाडौं, २६ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह तेस्रो जनआन्दोलनको आन्तरिक तयारीमा जुटेका छन् । दलाल दलतन्त्रविरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका साहले आज (शनिबार) विभिन्न चार कार्यक्रममा सहभागी हुँदै आम जनताको शासनका लागि जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुको पँक्तिलाई निर्देशन दिएका छन् ।

`जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ´ आजपा अध्यक्ष साहले भने ।

दलाल दलतन्त्रविरुद्ध तेस्रो जनआन्दोलनलाई निर्णायक बनाउन साह योजनाबद्ध तरिकाले अगाडी बढिरहेका छन् । विद्यार्थी, श्रमजिवि मजदुर एवं धर्मलाई आफ्नो हतियारको रुपमा प्रयोग गर्न खोजेका साहले यी क्षेत्रको परिचालनमा जुटेका छन् । उनी लगातार युवा विद्यार्थी, मजदुर, धार्मिक कार्यक्रममा सहभागी भईरहेका छन् ।

युवाहरुको बलियो संगठन आईटी आर्मी गठन गरेर अर्धसैन्य अभ्यास गर्दै अगाडी बढेका साहले जनआन्दोलन दिवसको अवसर पारेर गत २४ चैत २०८० मा काठमाडौंमा एक बृहत सभा गरेका थिए । २४ चैतमा आम जनताको शासन व्यवस्थाका लागि दलाल दलतन्त्र विरुद्ध ‘तेस्रो जनआन्दोलन’को उदघोष गरेका साहले त्यस यता बैठक, सभा, भेलालगायतका विभिन्न कार्यक्रममार्फत दलाल दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै आएका छन् ।

शनिबार बिहान ८ बजे आजपाको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा कवाड व्यवसायीसंग साहले बैठक गरे । सर्वोच्च अदालतको आदेशविपरित काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीलाई दुख दिन थालेपछि उनीहरुलाई साहले साथ दिएका थिए । साहकै सहयोगमा काठमाडौंमा कवाड व्यवसायीले पटक-पटक पदर्शन गर्दै आएका छन् ।

यस्तै अध्यक्ष साहले आजै १२ बजे बोलबम कवरिया संघको कालिमाटीमा आयोजित कार्यक्रममा समेत सहभागि भए । भोलेनाथ बोलबम कवरिया संघको कार्यक्रममा सहभागि भएका साहले आयोजित मोटरसाईकल र्यालीको रिबन काटेर उदघाटन मात्रै गरेनन् । धर्म, संस्कृतिको जर्गेनाका लागि संघर्षमा उत्रिन आह्वन समेत गरे । बिभिन्न समूह एवं अतिवादी समूहहरुबाट हिन्दु धर्ममाथि भईरहेको आक्रमण, विरोधलाई प्रतिकार गर्दै आफ्नो धर्म, संस्कृतीलाई जोगाउनुपर्ने उनले बताए ।

कवरिया संघको कार्यक्रम सकेर साह आजै जोरपाटीस्थित छिमेकी पार्टी प्यालेसमा आयोजित आजपानिकटको आम ट्रेड युनियन फेडरेसनको काठमाडौं उपत्यका बिशेष भेला कार्यक्रममा सहभागि भए । १ बजे जोरपाटी पुगेका साहले त्यहाँ मजदुरको हकहितका लागि सडक संघर्षमा उत्रिन मजदुरलाई आह्वान गरे । नेपालको उधोग व्यवसाय धरासायी बन्दै गईरहेको र सरकारमा सहभागिहरु भ्रष्टाचारमा डुबेकाले अब मजदुरहरुले ढिला नगरी आन्दोलनमा उत्रिनुपर्ने उनले बताए ।

यसैगरी मजदुरको कार्यक्रम सकेर आजै साढे २ बजे उनी सिनामंगलस्थित सेन्ट्रल कलेज पुगे । सिनामंगलमा आम ईन्जिनियर्स एण्ड टेक्निकल एशोसिएसनको राष्ट्रिय भेलामा सहभागिलाई सम्बोधन गर्दै विद्यार्थीलाई आन्दोलनको तयारीमा जुटन निर्देशन दिए । देशमा भ्रष्टाचार, अनियमितता, कुशासन बढदै गएको बताउँदै साहले बंगलादेशबाट पाठ सिकेर भ्रष्टाचारीलाई जहाँदेख्यो त्यही कारवाही गनुपर्ने बताए ।

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी साहले गरे । एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न अब बिद्यार्थी, मजदुर, व्यवसायी सहितकाले सामुहिक रुपमा सडक संघर्षमा उत्रिनमा ढिलाई गर्न नहुने बताए ।

आजपा अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प नभएको बताए । दलीय सिण्डीकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउँदै उनले भने, ‘एक त देशमा लोकतन्त्र नै छैन् । लोकतन्त्र देखाउँने दाँत मात्रै छ । दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेटले अब लोकतन्त्रसंगै दलतन्त्र समेत खतरामा परेको छ । यसले मुलुकमा थप संकटको संकेत गरेको छ ।’

लोकतन्त्र बचाउँनका लागि कांग्रेस र एमालेसंग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उनले बताए । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागि भएका कांग्रेस र एमालेले जनतासंग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरु आफ्नै प्रतिबद्धता विपरित सत्तास्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उनले बताए ।

‘के भोट माग्ने बेलामा एमालेले कांग्रेसको नेतृत्वमा सरकार बनाउँछौ भन्या थियो ? के कांग्रेसले एमालेको नेतृत्वमा सरकार बनाउँछु भन्या थियो ? तर आज के भईरहेको छ, संघदेखी प्रदेशसम्म उनीहरुले आफ्नै प्रतिबद्धता विपरिति काम गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुले जनताको भोट फिर्ता गर्नुपर्दैन् ?’ साहले प्रश्न गरे ।

अहिलेको लुटकारी व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नुपर्ने बताए । कांग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुटने काममा लागेको आरोप उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्