काठमाडौं, २७ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोग ठगन गरी राय, सुझाव र सिफारिसका आधारमा संविधान संशोधन गरिनुपर्ने प्रताव अगाडि सारेको छ । आज (आइतबार) देखि जारी जसपा नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे समसामयिक राजनीतिक प्रस्तावहरु पेश गरेका छन् ।
उक्त प्रस्तावमा समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्न आवश्यक रहेको उल्लेख छ । त्यसका लागि संविधानका विज्ञहरू सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ गठन गर्नुपर्ने जसपा नेपालको प्रस्ताव छ ।
त्यसैगरी, जसपाले स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने गरी राख्न आवश्यक संवैधानिक तथा कानूनी व्यवस्था गर्नुपर्ने, संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख÷राष्ट्रपतीय प्रणाली, समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली, राष्ट्रिय÷जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासन सहितको राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड लगायतका प्रावधानहरू संशोधन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । प्रदेशहरूको नामाङ्करण गर्दा पहिचान झल्कने गरी गर्नुपर्नेमा पनि जसपा नेपालको जोड छ ।