बैतडी, २८ साउन । वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबरको क्षति पुगको बताए । पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि जोखिममा रहेका जनाइएको छ ।
डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले पहिरोपीडितलाई स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनःस्थापनाका काम गरिने बताए । यसैबीच वर्षात्का समयमा विपद्का घटना हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ । रासस