Logo

रवि लामिछानेलाई सहकारी ठगीमा थुन्ला कि भन्ने डर छ, फेरि मन्त्री बन्न पाए हुन्थ्यो भन्ने होला : गगन थापा (भिडिओसहित)



काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका फाईल खुल्ने डरले कांग्रेस र एमालेको समिकरण बनेको भन्ने माओवादी र रास्वपाका नेताहरुको भनाईको खण्डन गरेका छन् । एचटिपी खबरका लागि पत्रकार दिवाकर साहसँगको कुराकानीमा महामन्त्री थापाले सरकारमा हुँदा किन फाईल नखोलेको त भनेर रास्वपाका सभापति रवि लामिछानेलाई प्रश्न तेर्साएका छन् ।

पत्रकार साहले फाईल खुल्ने डरले तपाईंहरु कांग्रेस र एमाले मिलेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा थापाले भने–‘अरे बाबा, के फाईल न साईल छोड्नुहोस न । अस्तिसम्म प्रचण्डजीकै सरकारमा हुनुहुन्थ्यो होईन ? भर्खरै दुई/महिना होईन यो गभर्मेन्ट बनाएको, ल फाइल खुल्छ भनेर डरायो रे, एकछिनलाई मानौं रे । किन शेरबहादुर देउवामात्रै म पनि डराएँ रे, हामी सबै थुरथुर भयौं रे । अनि हामी थुरथुर भयो भनेर हाम्रो सरकार बन्छ त ? अहिले रवि लामिछानेले चाहेर सरकार बन्छ ? रवि लामिछानेलाई अहिले गृहमन्त्री हुँदै गर्दा लुकाएर राखेको फाईल खुल्ला कि भन्ने डर छ । सहकारी ठगीमा लगेर मलाई थुन्ला कि भन्ने डर होला । फेरि म मन्त्री बन्न पाए हुन्थ्यो भन्ने होला । बन्नुहुन्छ त ?’

उनले माओवादी र एमाले नेतृत्वको सरकार तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण ढलेको दाबी गरे । उनले भने,‘प्रचण्डले हुँदाखाँदाको सरकार ढालेर केपी ओलीसँग सरकार बनाएर फेरि बाटो बाटोमा भाषण गर्दै जाँदाखेरि मसँग त जादुयी नम्बर छ, पाँचै वर्ष मै प्रधानमन्त्री हुँला जस्तो छ भनेर केपी ओलीको मुटुमा ढ्याँग्रो नठोकिदिएको भए, यो साथीले त पाँचै वर्ष हान्ने रहेछ भन्ने नबनाईदिएको भए, ल कांग्रेसले चाहेर कांग्रेस र केपी ओलीको सरकार बन्थ्यो ? बन्दैन थियो । यो नचाहिने हावादारी कुरा गरेर हुँदैन् ।’ उनले अहिलेको कांग्रेस–एमालेको सरकारले आफ्नो कामबाट आफूहरुमाथि लगाएको आरोप मिथ्या हुन भनेर प्रमाणित गर्नुपर्ने सुझाव दिए । उनले सरकारमा बसेकाहरुले सुशासनको सवालमा सम्झौता नगर्ने कुरा कामबाट प्रमाणित गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस र एमालेको नयाँ सत्ता सकिरणको भविष्यबारे सोधिएको प्रश्नमा महामन्त्री थापाले भने–‘कांग्रेसको तर्फबाट कुनै उपद्रो हुँदैन् । हामी कुनै उपद्रो गर्दैनौं । किनकी गर्नैपर्ने छैन् । किन गर्ने ? सभापतिजी अब प्रधानमन्त्री हुने हो । म हुने होईन । उहाँ दलको नेता हो । उहाँलाई अहिले कसैले हटाउन सक्दैन् । अब उहाँ नै अहिले दुई वर्ष कुर्छु र प्रधानमन्त्री हुन्छु भनेपछि उपद्रो कसले गर्ने ? कांग्रेले उपद्रो गर्दैन् । केपी ओलीले पनि किन गर्ने ? आफू अहिले आनन्दसँग प्रधानमन्त्री हुन पाउनुभएको छ । यत्रो शक्तिशाली प्रधानमन्त्री । उपद्रो कसैले गर्दैनन् । टिक्ने कुरामा मलाई लागेको छैन् । बिक्ने कुरामा चाहीँ मेरो क्वेशन्स छ ।’



प्रतिक्रिया दिनुहोस्