गुल्मी, साउन ३० । रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रजातिका नयाँ चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण संघका अनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेला परेका हुन्।
मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए। वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गर्दै आएको उनले बताए।
विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र छ किसिमका चरा पाइन्छ। गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल पाइन्छ। रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छ।
एक सर्वेक्षणअनुसार रेसुङ्गामा २६३ र मदानेमा २८६ प्रजातिका चरा फेला परेका हुन्। मदानेको वन क्षेत्र नौ सय ७५ मिटरदेखि दुई हजार ६९० मिटर र रेसुङ्गा वन क्षेत्र ५७५ देखि दुई हजार ३४५ मिटर उचाइसम्म छ। वनको क्षेत्रफलको हिसाबले रेसुङ्गा १९ हजार २८१ हेक्टर र मदाने १३ हजार ७४३ हेक्टर क्षेत्रफल छ।
रेसुङ्गा र मदाने संरक्षित वनमा दुर्लभ प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुँदै गएको परियोजना अधिकृत भरत पन्थीले बताए। विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षणका लागि संकटापन्न अवस्थामा रहेका चराको बासस्थान जोगाइराख्न स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने डिभिजन वन कार्यालयका प्रमुख जीवन पङ्गेनीले बताए। नेपाल पक्षी संरक्षण संघले वन क्षेत्रसँग जोडिएका वडामा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ।