काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे बाढीमा परेकाहरूको उद्धार र राहतमा कमी हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।
अध्यक्ष दाहालले आज अपराह्न सामाजिक सञ्जालमार्फत सो क्षेत्रमा हिमताल फुटेर बाढीले ठूलो धनजनको क्षति भएको र तटीय क्षेत्रमा मानवीय जोखिम उत्पन्न गराएको बताएका छन् ।
“नेपाल सरकारलाई उद्धार र राहतमा कमी हुन नदिन आग्रह गर्दै विश्व समुदायलाई जलवायु जोखिमबाट नेपाललाई सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोगको दायरा गुणात्मक रूपले बढाउन पुनः अपिल गर्दछु,”–अध्यक्ष दाहालले भनेका छन् ।
उनले जलवायु परिवर्तनको नकारात्मक असरले गर्दा पर्वतीय देशहरूको मानवीय जीवन बहुआयामिक जोखिममा पर्दै गएको जानकारी गराउँदै हिमाल पग्लिने क्रम जारी रहेकामा चिन्ता प्रकट गरेका छन् । अध्यक्ष दाहालले नेपालजस्ता देशहरूले आफूले नगरेको गल्तीको सजाय भोगिरहेको पनि उल्लेख गरेका छन् ।
“हिमाल पग्लिने क्रम जारी छ, हिमताल फुटिरहेका छन् । बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले तटीय क्षेत्रमा जनधनको ठूलो क्षति भइरहेको छ । मैले संयुक्त राष्ट्रसङ्घको महासभादेखि कोप–२८ सम्म जलवायु न्यायको कुरा गरेको थिएँ । नेपालजस्ता देशहरूले हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौँ,”– उनले भनेका छन् ।