काठमाडौं, भदौ १२ । नेकपा (माओवादी केन्द्र) की स्थायी कमिटी सदस्य रेखा शर्माले पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएकी छन् ।
मंगलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताइन् ।
‘आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्ने गरी पार्टीले छलफल अघि बढाएको छ’, उनले भनिन् ।
पार्टीभित्र अन्तरविरोध रहने विषयलाई ठूलो रूप बनाउन नहुने उल्लेख गर्दै उनले पार्टीभित्रको छलफललाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिइन् ।
त्यस अवसरमा पार्टीका निर्वाचन आयोग संयोजक कुवेर वलीले पार्टीभित्र गुटबन्दी हुन नहुने बताए । पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले माओवादी केन्द्रको जनमत घट्दै गएको प्रति समीक्षा हुनुपर्ने बताए ।