Logo

सप्तरीका सीडीयोसहितका अधिकारीलाई कारवाहीको माग गर्दै आजपाले बुझायो गृहमन्त्री लेखकलाई ज्ञापनपत्र



काठमाडौं । आम जनता पार्टी (आजपा) सप्तरीले गृहमन्त्री रमेश लेखकलाई बिभिन्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सिंहदरबारमा पुगेर आजपाका नेताहरुले आज गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।

सप्तरी जिल्लामा भईरहेको घुस एवं कमिसनको खेल बन्द गर्नुपर्ने माग गर्दै आजपाले सप्तरीका प्रमुख जिल्ला अधिकारी मेघबहादुर मग्रान्ती, तत्कालिन प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, तत्कालिन प्रहरी सहायक उपरिक्षक दुण्डिराज न्यौपाने, नापी अधिकृत सुमनकिशोर मिश्र लगायतकालाई कानूनी कारवाही गर्न माग गरिएको छ ।

यस्तै नापी कार्यालय राजविराजको घट्नाक्रमको विषयमा निष्पक्ष छानविनका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्न माग समेत आजपाले गरेको छ । साथै सप्तरीको राजविराज स्थित नापी कार्यालयमा भएको घटनाका दिन उपस्थित सम्पुर्ण कर्मचारीलाई नार्को टेस्ट गर्न समेत माग गरिएको छ ।

यसैगरी आजपाले मिटरव्याजी एवं लघुवित्त पीडितलाई प्रहरी प्रशासनले गर्ने हेपाहा प्रवृक्तिको व्यवहार अन्त्य गर्नुपर्ने र साथै त्यस्तो प्रवृत्ति देखाउने कर्मचारीलाई कारवाही गर्न माग गरिएको छ । संविधान अनुसार वाक् स्वतन्त्रताको पूर्ण प्रत्याभुति हुनुपर्ने माग समेत गरिएको छ ।

हालै नापी कार्यालय राजविराजमा भएको घटनाको बारेमा गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउँदै दुख दिने र उल्टै झुठो मुद्धामा फसाउन खोज्नेलाई कडा कारवाही गर्न माग गरिएको छ ।

भ्रष्टाचार, अनियमितताको विरोध गरेपछि आजपा केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज समेत रहेका प्रमोद शाह राणालाई दुख दिने र झुठो मुद्धामा फसाउने खेल भएको थियो । सोही बिषयमा राणाको नेतृत्वमा एक टोली सिंहदरबार काठमाडौंमा पुगेर गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।

सो टोलीमा आजपा स्थायी कमिटी सदस्य सुनिता साह, आम महिला मोर्चाका केन्द्रीय सचिव विभा साह, आम महिला लघुवित पीडित संघर्ष समितिका सचिव सदानन्द मण्डल, आईटी आर्मीका केन्द्रीय सदस्य अनामिका साह, आम महिला मोर्चाका केन्द्रीय कमिटीका कोषाध्यक्ष मिनादेवी साह, आजपा नेताहरु सुर्यनाराण सरदार लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्