Logo

ट्रम्प र स्टार्मरबीच न्युयोर्कमा दुई घन्टाको डिनर भेट



लन्डन, ११ असोज । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले न्युयोर्कमा डोनाल्ड ट्रम्पसँग दुई घन्टाको डिनर भेट गरेको सञ्चारमाध्यमहरूले शुक्रबार बताएका छन् । बेलायतका नयाँ प्रधानमन्त्री र अमेरिकाका पूर्वराष्ट्रपतिबीचको यो पहिलो भेट थियो ।

बिबिसी, द गार्जियन र द डेली मेलका अनुसार नोभेम्बरको अमरिकी निर्वाचनमा रिपब्लिकन उम्मेदवार ट्रम्पले बिहीबार ट्रम्प टावरमा लेबर पार्टीका नेता स्टार्मरलाई आतिथ्यता गरेको थियो ।

“मलाई वास्तवमै उहाँ राम्रो लाग्नुहुन्छ, उहाँले ठूलो दौड लगाउनुभएको छ, उहाँले अत्यन्त राम्रो प्रदर्शन गर्नुभएको छ, यो धेरै राम्रो सुरुआत हो, उहाँ धेरै लोकप्रिय हुनुहुन्छ”, भेटघाटअघि ट्रम्पले पत्रकारहरूलाई भने ।

स्टार्मरले जुलाईमा बेलायतको आम निर्वाचनमा १४ वर्षपछि कन्जरभेटिभहरूलाई सत्ताबाट हटाउँदै भारी मतले निर्वाचन जितेको थियो ।

स्टार्मरले अमेरिकी निर्वाचनका दुवै उम्मेदवारसँग भेट्नु आफ्ना लागि महत्त्वपूर्ण भएको तर ‘अति व्यस्त कार्यतालिका’ का कारण उपराष्ट्रपति एवं डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिससँग भेटघाट तय गर्न सम्भव नभएको बताए । “हामीलाई अहिले ट्रम्पसँग भेट्ने अवसर छ, यो राम्रो कुरा हो”, उनले भने ।

ट्रम्प र स्टार्मरसँग विगतमा ट्रम्पका बारेमा कडा टिप्पणीहरू गरेका बेलायतका विदेशमन्त्री डेभिड लामी पनि सहभागी थिए । सन् २०१८ मा लामीले ट्रम्पलाई ‘महिलालाई घृणा गर्ने, नव–नाजी समर्थक समाजविरोधी’ भनेको थियो ।

यद्यपि लामी यस वर्षको प्रारम्भमा बढी कूटनीतिक भएको थियो । उनले एउटा सम्बोधनमा ट्रम्पको ‘युरोपेली सुरक्षाप्रतिको दृष्टिकोणलाई प्राय गलत बुझिएको’ बताएको थियो ।

बेलायती प्रधानमन्त्री स्टार्मरले निर्वाचनमा तटस्थ दृष्टिकोण अपनाएको छ । यद्यपि विश्लेषकहरूले विशेषगरी नाटो र युक्रेनप्रति ट्रम्पको समर्थनमा आशङ्का रहेकाले उनको राष्ट्रपतित्वले कठिनाइ सिर्जना गर्नसक्ने बताएका छन् ।

स्टार्मर राष्ट्रसङ्घीय महासभामा भाग लिन न्युयोर्कमा थिए ।रासस



प्रतिक्रिया दिनुहोस्