काठमाडौं, १९ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) को सङ्गठनात्मक सुदृढीकरण र जनतासँगको पहुँचलाई अझ बलियो बनाउन आह्वान गरेका छन् । बुधवार वीरगञ्जमा जसपा जिल्ला कार्यसमिति पर्साद्वारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्र्दै मन्त्री यादवले पार्टीलाई सुदृढ बनाएर जनताको समस्यालाई समाधान गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढ्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरे ।
‘हामीलाई जनताको विश्वास जित्नु छ, त्यसका लागि सबै नेताहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । जनताको समस्या हाम्रै समस्या हो, त्यसैले हामी सधैँ उहाँहरूको पक्षमा उभिनु पर्छ,’– उनले भने ।
जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनताको सेवामा समर्पित रहन र सङ्गठनलाई अझ एकताबद्ध बनाउन आग्रह गरे । ‘जसपा अहिले एक महत्त्वपूर्ण मोडमा छ । हामीले जनताका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । विकासका कार्यहरूलाई प्राथमिकता दिनुपर्छ । जसले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ,’– उनले भने ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले जसपाको सुदृढीकरण र भविष्यका चुनौतीहरूको सामना गर्न आवश्यक तयारीबारे पनि चर्चा गरे । ‘पार्टी एकताबद्ध भएर मात्र हामीले आगामी चुनौतीहरूलाई सफलतापूर्वक सामना गर्न सक्छौँ । हामीलाई सङ्गठनलाई मजबुत बनाउँदै जनताका विश्वास लायक बन्नुपर्छ,’– उनले भने ।
बैठकमा सहभागी वीरगञ्ज महानगरपालिकाका मेयर तथा पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले पनि पार्टीलाई सुदृढ बनाउन र जनताको सेवा गर्न सबै नेताहरू एकताबद्ध हुनु आवश्यक रहेको बताए । ‘हामीले सङ्गठनलाई थप मजबुत बनाउन निरन्तर प्रयास गरिरहनुपर्छ,’– उनले भने ।
त्यस्तै, पर्सा जिल्ला समितिका संयोजक तथा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीले पार्टीलाई सफल बनाउन सक्रियताका साथ काम गर्न प्रेरित गर्दै भने, ‘हामीले जनताको भरोसा जितेर आउने दिनमा जसपालाई सफल बनाउनु पर्छ ।’
बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले मन्त्री यादवको भनाइलाई सकारात्मक रूपमा लिँदै, पार्टीको हितका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बैठकमा जिल्ला समितिका पदाधिकारीहरू, विभिन्न स्थानीय तहका प्रतिनिधि, तथा पार्टीका अन्य सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो । उपस्थितहरूले बैठकमा पार्टीको वर्तमान स्थिति, सङ्गठनात्मक गतिविधि, र आगामी रणनीतिहरूको बारेमा विस्तृत छलफल भएको थियो । बैठकले आगामी दिनमा जसपाको भूमिकालाई बलियो बनाउने उद्देश्यले विभिन्न योजना र कार्यक्रमहरू अघि सार्ने निर्णय पनि गरेको छ ।