Logo

युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था छैन् : शंकर पोखरेल



काठमाडौं, २० भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले देशमा युवामा निराशा छाएको बताएका छन् । तर, युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नभएको उनको टिप्पणी छ । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आज (बिहीबार) सुर्खेत विमानस्थलमा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको स्पष्ट गर्दै युवालाई रोजगारीका लागि सबै तहका सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘मैले दुईदलीय प्रणालीको कुरा गरेको छैन । मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ । नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन, बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’

अर्को प्रसङ्गमा सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको उनले बताए । उनले भने,‘उहाँहरूले बाहिर आएर भनेको सुनेका छौं र ? कथा बनाइयो । कांग्रेसको औपचारिक निर्णय यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ।’

फरक प्रसंगमा उनले २०८४ मा एमाले देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने दाबी गरे । लोकतन्त्रलाई सुदृढ गर्न बलियो शक्ति आवश्यक भएको बताउँदै महासचिव पोखरेलले त्यसका लागि २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताए ।



प्रतिक्रिया दिनुहोस्