काठमाडौं, २४ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले घुसखोरीको विरोध गरेको निहुँमा सप्तरीमा प्रमोद राणासहित दर्जनौंलाई प्रहरीले समातेकोमा विरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले घुसखोरी अपराध हो भन्दै यसको विरोध गर्न पाउनुपर्ने बताए ।
उनले भने,‘घुसखोरी अपराध हो कि होईन ? म प्रधानमन्त्रीज्यूसँग सोध्न चाहन्छु । यदि घुसखोरी अपराध हो भने यसको विरोध गर्ने मान्छेलाई समात्ने हो ? कि अपराधीलाई समात्ने हो ? म सोध्न चाहन्छु । यही भदौ २० गते शम्भुनाथ नगरपालिकाको मोहम्मदको पैसा लिएको विषयमा केही अगुवा व्यक्तिहरुले सोधपुछ गरेको भिडिओ सार्वजनिक छ, ती कर्मचारी आँफैले पैसा लिएको स्विकारेको छ । यो विषय उठाउँदा हाम्रो आम जनता पार्टीका केन्द्रीय सदस्य प्रमोद राणालाई समातिएको छ । उहाँ २०६४ सालको एमालेबाट संविधानसभा सदस्यको उम्मेद्वार हुनुहुन्थ्यो, आज समातिँदा एमालेका एक जना नेताले भेटेर आजपा छोडेर एमाले आउनुहोस, म आजै छुटाउँछु भन्नुभएछ । मान्छे समातेर बार्गेनिङ गर्ने, यस्तो निचतामा उत्रिनुभयो प्रधानमन्त्रीज्यू ? एमालेको मान्छे अरु पार्टीमा जानै हुँदैन्, अरु पार्टीमा गयो भने त्यसलाई थुनिहाल्नुपर्ने ? होईन भने जवाफ दिनुहोस, देशले जवाफ चाहन्छ कि प्रमोद राणाले के अपराध गरेको थियो ?’
प्रमोद राणा पक्राउ पर्दा त्यसको विरोधमा शान्तिपूर्ण प्रदर्शनसमेत गर्न नदिईएको भन्दै साहले आक्रोश पोखे ।