काठमाडौं । सहकारीको पैसा गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि बयान लिईंदै छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा शुक्रबार पनि उनको प्रहरी र सरकारी वकिलले बयान लिएका थिए । शुक्रबार नसकिएकाले आज पनि बयान लिइने प्रहरीले जनाएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा करोडौँ रकम गोर्खा मिडियामा लगिएको थियो । गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए । सोही आधारमा उनको समेत त्यसमा बयान लिइएको छ ।
लामिछानेले सो कम्पनीको प्रबन्ध–निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको, तर पैसा सहकारीबाट आएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन् ।
संसदीय छानबिन समितिले सहकारीबाट पैसा ल्याउने क्रममा लामिछानेको भूमिका नभएको, तर खर्च गर्दाको जिम्मेवारी लिनुपर्ने उल्लेख गरेको छ । प्रहरीले संगठित अपराधसहित ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ । कास्की र रूपन्देहीमा प्रहरीले उनको बयान लिइसकेको छ भने काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।