Logo

एनपीएमा आज दुई खेल हुँदै, रनरेटका आधारमा कुन टोली बलियो?



काठमाडौं, मंसिर २३ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल अहिले बिहान ९ बजे सुरु हुनेछ भने आजको दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुने खेलमा जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ। पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णालीलाई आठआठ विकेटले हराएको जनकपुरले तेस्रो खेलमा पोखरालाई सात विकेटले हराएको हो। अपराजित जनकपुर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ।

तालिकाको पुछारमा रहेको लुम्बिनी भने पहिलो जितको खोजीमा छ। पहिलो खेलमा विराटनगरसँग एक बल बाँकी हुँदा दुई विकेटले पराजित भएको लुम्बिनी दोस्रो खेलमा पोखरासँग १० विकेटको पराकिलो अन्तरले पराजित भयो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ।

त्यस्तै, दोस्रो खेलमा तीन जितसहित तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमसँग तेस्रो स्थानको चितवनबीच प्रतिस्पर्धा हुन लागेको छ ।

सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ भने चितवन कुशल मल्लको कम्तानीमा छ। पहिलो खेलमा विराटगरलाई ९० रनले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौंमाथि ७३ रनको जित निकालेको थियो। तेस्रो खेलमा भने शनिबार लुम्बिनीलाई ४५ रनले हराएको छ। अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ। जनकपुर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा पुगेको हो।

यता, पहिलो खेलमा काठमाडौंविरुद्ध पाँच विकेटले विजयी भएको चितवनले दोस्रो खेलमा पोखरामाथि ८७ रनको शानदार जित निकालेको छ। तेस्रो खेलमा कर्णालीसँग एक बल बाँकी छँदा ६ विकेटले पराजित भएको चितवन आज अर्को जितको खोजीमा हुनेछ।



प्रतिक्रिया दिनुहोस्