काठमाडौं, १३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपाल सम्वत ११४५ का अवसरमा एमालेको काठमाडौं महानगर कमिटीद्वारा आज वसन्तपुरमा आयोजित जलपान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने हुँदा त्यसतर्फ लाग्न सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरेका हुन् । कला, संस्कृति र सभ्यतामा धनी नेपालीले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिलाई बचाएर मानव जगतको कल्याणका लागि काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।