Logo

पूर्वराष्ट्रपति भण्डारी सक्रिय हुन चाहनुहुन्छ भने स्वागतयोग्य होः एमाले महासचिव पोखरेल



काठमाडौं, १४ पुुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुन खोजेको हो भने स्वागतयोग्य विषय रहेको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा एक कार्यक्रममा जनकपुर आएका महासचिव पोखरेलले विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘सम्मानीय पूर्वराष्ट्रपतिज्यू पुनः समाजसेवामा सक्रिय हुन चाहनुहुन्छ भने स्वागतयोग्य हो,’– उनले भने ।

महासचिव पोखरेलले अहिले आफूहरुले पार्टीको महाधिवेशनभन्दा बढी मिसन ०८४ मा केन्द्रित भएर काम गरिरहेको पनि बताए । भण्डारी सक्रिय राजनीतिमा आए प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको आगामी ११औं महाधिवेशनका ‘थ्रेट’ हुने धेरैको अनुमान छ । महासचिव पोखरेलले भने भण्डारीलाई सक्रिय राजनीतिमा आउन बल पुग्नेगरी सो विषय स्वागतयोग्य रहेको धारणा व्यक्त गरे ।

पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा ल्याउनुपर्ने र ल्याउन नहुनेबीच पार्टीमा आन्तरिक कलह सुरु भएको छ । दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी भण्डारीले पनि एमालेमा फर्किने मनशाय व्यक्त गरिसकेकी छन् । पार्टी अध्यक्ष ओलीबाट एमालेमा हेपिएका, पेलिएका, थिचिएका र अवसरबाट बञ्चित पारिएका केही नेताहरू भण्डारीले अब पार्टीको नेतृत्व गरुनँ भन्ने पक्षमा छन् । उनीहरू जसरीपनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर अध्यक्ष र पहिलो महिला प्रधानमन्त्रीसमेत बनाउन चाहन्छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिवसमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका शीर्ष नेताहरु पनि भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका छन् । कुनै समय ओलीको सबैभन्दा निकट मानिने नेताहरु गोकुलप्रसाद बाँस्कोटा र कर्ण थापासमेत भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा दृढ भएर उभिएका छन् । विगतमा अवसर पाएका धेरै नेताहरू पछिल्लो समय ओलीसँग असन्तुष्ट छन् । पूर्वमुख्यमन्त्री शेरधन राईदेखि ओलीसँग ज्वाईँ नाता जोडेर मन्त्रीसम्म बन्न भ्याएका कर्ण थापासमेत ओलीकै विरुद्धमा उभिएका छन् । कोशी प्रदेश अध्यक्षमा हारेका विनोद ढकालदेखि भण्डारीकै जोडबलमा राष्ट्रिय सभा सदस्य हुँदै परराष्ट्रमन्त्रीसमेत बनेकी डा. विमला राई पौड्यालसमेत निरन्तर भण्डारीलाई पार्टी राजनीतिमा फर्काउन सक्रिय छन् ।

पूर्वराष्ट्रपति भण्डारी पनि सक्रिय राजनीतिमा आउन ‘वार्मअप’ गरिरहेकी छन् । विभिन्न सामाजिक कार्यक्रमहरुमा उनले सहभागिता बढाएकी छन् । एमालेका भातृ संगठनहरुले आयोजना गर्ने कार्यक्रमहरुमा समेत उनको सक्रियता बढेको छ । त्यस्तै, भण्डारीनिकट मानिने केन्द्र तथा जिल्ला स्तरका नेताहरुसँग पनि उनको बाक्लो भेटघाट हुन थालेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्