काठमाडौं । दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ ।
६ जना चालक दलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । १८१ जनामध्ये २ जनामात्र बाँच्न सफल भएको र अरु सबैले ज्यान गुमाएपछि एयरलाइन्सले विज्ञप्तिनै निकालेर माफी मागेको हो ।
जेजु एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठूलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौँ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘हामी यस घटनाको वास्तविकता बताउन हरसम्भव प्रयास गर्नेछौँ। हामी यस घटनाका लागि क्षमाप्रार्थी छौँ।’
दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको थियो । उनीहरुको उपचार भइरहेको अधिकारीअरुले जनाएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । विमानमा चरा ठोक्किएर दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।
जहाजमा रहेका यात्रुहरूमा १ सय ७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक रहेको योनहाप समाचार एजेन्सीले जनाएको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।