Logo

अर्जुन ट्रफीमा डडेल्धुराको लगातार दोस्रो जित, भुर्तेल एक्लैले लिए ४ विकेट



काठमाडौं । धनगढीमा जारी अर्जुन ट्रफी क्रिकेटमा फ्रेन्ड्स क्लब डडेल्धुराले लगातार दोस्रो जित निकालेको छ । बोस्टर्न झापालाई ७७ रनले पराजित गर्दै डडेल्धुराले दोस्रो जित निकालेको हो ।

डडेल्धुराले दिएको १४४ रनको लक्ष्य पछ्याएको झापाले ६६ रनमात्र जोडेपछि डडेल्धुराले फराकिलो जित निकालेको हो । झापाका लागि सनम बुढाोकीले १७ तथा दीपु भुजेलले १५ रन जोड्दा रोहन विक र रमेश भट्टले समान ८ रन जोडे ।

बलिङमा डडेल्धुराका कुशल भुर्तेल एक्लैले ४ विकेट लिए । ३ ओभर फ्याँकेका भुर्तेलले १२ रन दिएका थिए । त्यस्तै अजय चौहानले २ तथा रवि विष्ट, अजय गौतम र सन्दीप जोराले समान एक विकेट लिए ।

त्यसअघि फाप्ला मैददानमा टस हारेर पहिला ब्याटिङ गरेको डडेल्धुराले खराब मौंसमका कारण १५ ओभरमा झारिएको खेलमा निर्धारित ओभरमा ३ विकेट गुमाएर १४३ रन जोड्यो ।

डडेल्धुराका लागि आयुषमान बम र सन्दीप जोराले अर्धशतक प्रहार गरे । ३० बलको सामाना गरेका जोरा ५१ रनमा आउट हुँदा समान ४ छक्का र चौका प्रहार गरे । ओपनर आयुषमान ५७ रनमा नटआउट रहे । उनले ३६ बलमा ७ चौका र एक छक्का प्रहरा गरे ।

अविजित रहेका किरण ठगुन्नाले १० बलमा २ छक्का र एक चोकोको मद्दतमा २१ रन जोडे । अर्का ओपनर कुशल भुर्तेल २ रनमा आउट भए । बलिङमा झापाका अरुण ऐरीले २ तथा पवन कार्कीले एक विकेट लिए ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउने छन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

धनगढीमा क्रिकेट खेलको विकासका लागि महत्त्वपूर्ण योगदान गरेका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्