होमस्टे प्रवर्द्धनमा इच्छाकामना

28
Shares

काठमाडौं, माघ २२ । चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि घरबास (होमस्टे) सञ्चालनमा जोड दिएको छ । स्थानीय समुदायको आयआर्जन वृद्धि गर्दै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले पालिकाले घरबास प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको हो ।

इच्छाकामनाका पर्यटकीयस्थल र आसपासका गाउँमा घरबास सञ्चालनमा जोड दिइएको पालिका कार्यालयले जनाएको छ । ती घरबास सञ्चालनका लागि पालिकाले आर्थिक, प्राविधिकलगायत सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए ।

पछिल्लो समय गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं २ घुर्केशस्थित पुरानो गुरूङ गाउँमा परम्परागत घरमा १४ वटा होमस्टे सञ्चालनमा आएका छन् । ती घरबास सञ्चालकको क्षमता विकासका लागि गत शुक्रबार र शनिबार दुई दिन मुलुकको पहिलो घरबास स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरूबारीको भ्रमण गरिएको बताउँदै पूर्वाधार विकासका योजना बनाइने उनले उल्लेख गरे ।

अध्यक्ष गुरूङका अनुसार घरबास सञ्चालकको क्षमता विकासका लागि अध्ययन भ्रमण गराइएको हो । उनले भने, ‘पर्यटकलाई कसरी स्वागत, सत्कार गर्ने र व्यावसायिक रूपमा घरबास सञ्चालन कसरी गर्न सकिन्छ भन्ने जानकारी होस् भन्ने उद्देश्यले सरूबारीको अवलोकन भ्रमण गराइएको हो ।’ उनका अनुसार यसअघि घरबास सञ्चालकलाई तालिम दिइएको छ । रासस

Skip This