Logo

नेविसंघको आयोजनामा सोलुखुम्बुको स्यानबोचेमा जलवायु न्यायसम्बन्धी संगोष्ठी सम्पन्न



काठमाडौं । सोलुखुम्बुको स्यानबोचेमा जलवायु न्यायसम्बन्धी संगोष्ठी सम्पन्न भयो। उक्त कार्यक्रम क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वर्ल्ड्स युथ फर क्लाइमेट जस्टिस, युथ एक्शन फर सस्टेनेबल एण्ड इको नेपाल, तथा युथ इनिसिएटिभ नेपाल को संयुक्त आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रमको आयोजना गर्न नेपाल विद्यार्थी संघले सहकार्य गरेको थियो। जलवायु संगोष्ठी को सन्देश “हिउँ पग्लिनु अघि नै कारबाही गरौँ” भन्ने रहेको थियो।

यस संगोष्ठीको आयोजना “जय नेपाल टी-२० अन्तर्राष्ट्रिय अन्तर-विश्वविद्यालय क्रिकेट प्रतियोगिता” को सफल समापनपछि गरिएको थियो, जसको मुख्य सन्देश “One Earth One Voice: Act on Climate Change” भन्ने थियो। कार्यक्रममा जय नेपाल क्रिकेट प्रतियोगिताको विजयी टिम (मध्यपश्चिम विश्वविद्यालय), सगरमाथा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि, स्थानीय बासिन्दा, ट्रेकरहरू, नेपाल विद्यार्थी संघका सदस्यहरू तथा जलवायु अभियन्ताहरू को सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन वर्ल्ड्स युथ फर क्लाइमेट जस्टिसकी राष्ट्रिय अभियानकर्ता सुस्मिता क्षेत्री ले गर्नुभएको थियो। उहाँले कार्यक्रमको पृष्ठभूमि तथा आयोजना गर्नुको उद्देश्य स्पष्ट पार्नुभयो।

नेपाल विद्यार्थी संघका अध्यक्ष डुजाङ शेर्पा ले संगोष्ठी को प्रारम्भ गर्दै भन्नुभयो कि यो क्रिकेट मात्र नभएर एउटा अभियान हो। जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय जागरूकता बढाउने तथा नेपालमा जलवायु परिवर्तनका प्रभावहरू उजागर गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो। संगोष्ठी कार्यक्रमको एउटा महत्वपूर्ण भाग रहेको उल्लेख गर्दै उहाँले आयोजकहरू तथा नेपाल विद्यार्थी संघले आगामी फागुन २ गते प्रत्येक प्रदेशबाट ७ जना जलवायु च्याम्पियनहरू सम्मान गर्ने अर्को कार्यक्रमको आयोजना गर्ने जानकारी गराउनुभयो।

सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विवेक बैजू ले स्थानीय सन्दर्भमा जलवायु परिवर्तनका चुनौतीहरूबारे प्रकाश पार्नुभयो। केही वर्षअघि यो मौसममा हिउँले ढाकिएको क्षेत्र अहिले भने हिउँबिहीन भएको उहाँले बताउनुभयो। जलवायु परिवर्तनका कारण निकुञ्जभित्रका जैविक विविधतामा असर परे पनि राष्ट्रिय निकुञ्ज भएकोले केही हदसम्म संरक्षण हुन सकेको छ। सरकारले नेपालको हिमनदीहरूको अध्ययन गर्न थालेको तथा केही पहलहरू गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो।

हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि नवा छिरिङ शेर्पा ले जलवायु परिवर्तनले ट्रेकिङ तथा पर्यटन व्यवसायमा पुर्‍याएको असरबारे चर्चा गर्नुभयो। जलवायु परिवर्तनले रोजगार तथा जीवनशैलीमा असर पुर्याएको भन्दै पर्यटन क्षेत्रलाई जोगाउन तत्काल उपाय अपनाउनुपर्ने उहाँले जोड दिनुभयो।

होटल एभरेस्ट भ्युका मालिक आङ शेर्पा ले जाडो मौसम पहिलेको जस्तो चिसो नभएको र हिमालहरू कालो चट्टानमा परिणत भइसकेको बताउनुभयो। हिमनदीहरू तीव्र गतिमा पग्लँदै गएका छन्, जसले पर्यटन व्यवसायमा प्रत्यक्ष असर पारिरहेको छ। उहाँले जलवायु परिवर्तनले कृषि उत्पादनमा समेत नकारात्मक प्रभाव पारेको र उत्पादन घटेको जानकारी दिनुभयो।

मध्यपश्चिम विश्वविद्यालयका सहायक प्राध्यापक बिक्रम खड्का ले आयोजकहरूलाई धन्यवाद दिँदै भन्नुभयो कि जलवायु परिवर्तन र हिमनदी पग्लिरहेको विषय पुस्तकमा पढेको र सुनेको भए पनि प्रत्यक्ष अवलोकन गर्दा धेरै कुरा सिक्न पाएको महसुस भएको छ। जय नेपाल टी-२० क्रिकेट प्रतियोगिता जलवायु परिवर्तनको सन्देश फैलाउन उत्कृष्ट माध्यम बनेको भन्दै उहाँले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर राख्नुपर्नेमा जोड दिनुभयो।

मध्यपश्चिम विश्वविद्यालय क्रिकेट टिमका कप्तान राजन ले आयोजकहरूलाई धन्यवाद दिँदै जलवायु परिवर्तनका असरहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले हिमालय क्षेत्रका हिमनदीहरू पग्लँदै गएको देख्दा जलवायु परिवर्तनको विरुद्ध कार्य गर्नुपर्ने महसुस भएको बताउनुभयो।

मध्यपश्चिम विश्वविद्यालयका खेलाडी रोशन बस्नेत ले क्रिकेट प्रतियोगिताले जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रूपमा बुझ्ने अवसर दिएको बताउनुभयो। हिमालयको हिउँ हराएर कालो चट्टान देखिनु दु:खद रहेको भन्दै उहाँले लुक्लादेखि स्यानबोचे आइरहँदा चराचुरुंगीको आवाजसमेत सुन्न नसकेको अनुभव सुनाउनुभयो। उहाँले स्थानीय, प्रादेशिक र राष्ट्रिय रूपमा जलवायु परिवर्तनबारे सचेतना फैलाउनु आवश्यक रहेको बताए।

युथ इनिसिएटिभ नेपालकी उपाध्यक्ष अलीशा ढुंगानाले कार्यक्रमको समापन मन्तव्य दिँदै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले कार्यक्रममा व्यक्त गरिएका धारणा महत्वपूर्ण रहेको बताउँदै हिमालय क्षेत्र हिउँविहीन देखिनु दुखद रहेको उल्लेख गर्नुभयो।

जलवायु न्यायको प्रतिबद्धता
कार्यक्रमको अन्त्यमा सबै सहभागीहरूले “जलवायु न्याय” लेखिएको ब्यानरमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्यायको माग राखे। साथै, क्रिकेट प्रतियोगितामा भएका जम्मा रन संख्याको बराबर वृक्षारोपण गर्ने प्रतिबद्धता अनुसार सहभागीहरूले रूख रोपण पनि गरे।



प्रतिक्रिया दिनुहोस्