
मस्को, २५ माघ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरी बोरिसोभको स्थानमा दिमित्री बाकानोभलाई रुसको राष्ट्रिय अन्तरिक्ष निगम (रोस्कोस्मोस)को नयाँ महानिर्देशकमा नियुक्त गरेको क्रेमलिनले बिहीबार आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी गराएको छ ।
आफ्नो यो नियुक्ति अघि ३९ वर्षीय बाकानोभले यातायात उपमन्त्रीको रूपमा काम गर्दा मानवरहित यातायात प्रणालीसहित नवीनतामा ध्यान केन्द्रित गरेको थियो ।
उनले यातायात मन्त्रालयमा जानुअघि सन् २०११ देखि सन् २०१९ सम्म गोनेट उपग्रह प्रणाली कम्पनीको नेतृत्व गरेको थियो ।
बोरिसोभले सन् २०२२ देखि दिमित्री रोगोजिनको स्थानमा रोस्कोस्मोसको नेतृत्व गर्दै आएको थियो ।
अन्तरिक्ष एजेन्सीको कार्यभार सम्हाल्नुअघि उनले प्राविधिक र प्रतिरक्षा क्षेत्रको रेखदेख गर्ने उपप्रधानमन्त्रीका रूपमा काम गरेको थियो र त्यसअघि उनले उप रक्षामन्त्रीको पद सम्हालेको थियो । रासस