Logo

प्रहरी कुट्ने अनेरास्ववियुका कमल जोशीलगायतलाई सत्ताको आडमा उन्मुक्ति दिइएको भन्दै माओवादीको आपत्ति



काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामा (तामाङ) ले प्रहरीमाथि सांघातिक आक्रमण गर्ने अनेरास्ववियूका नेतालाई सरकार पक्षले जोगाएको भन्दै आपत्ति जनाएकी छन् । गत माघ २४ गते मध्यराति अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सोही क्याम्पस इकाइ उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देल सिग्देल, अनेरास्ववियू नेता रमेश फुलारालालगायतको ग्याङले प्रहरीको क्यूआरटी (क्वीक रेस्पोन्स टिम) माथि आक्रमण गरेको थियो ।

सो घटनामा संलग्न सिग्देल र फुलारालाई प्रहरीले पक्राउ गरिसकेको छ । तर, जोशीलाई भने शक्तिको आडमा उन्मुक्ति दिइएको भन्दै आलोचना भइरहेको छ । मदिराले लठ्ठ भएर हल्ला गर्दै हिँडेका उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि उनीहरुले सांघातिक आक्रमण गरेका थिए । मध्यरातमा होहल्ला गर्दै आएका उनीहरुलाई प्रहरीले सम्झाउन खोज्दा आक्रमण गरेको बताईएको छ ।

अनेरास्ववियूका नेताहरुको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो । प्रहरी हबल्दार घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । त्यस्तै जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको बताइएको छ ।

जोशीलाई उन्मुक्ति दिइएको विषय उल्लेख गर्दै सांसद छिरिङ ल्हामु लामाले भनिन्, ‘केही दिनअघि ठमेलमा ड्युटीमा खटिएको प्रहरीको क्विक रेस्पोन्स टिमको टोलीमाथि मध्यराति एक जड्या र आपराधिक समूहले आक्रमण गर्यो । प्रहरीको ज्यानै लिने नियत राखेको त्यो समूह अहिलेको सरकारको प्रधानमन्त्रीको पार्टीसँग आवद्ध रहेछ । त्यो समूहको नाइकेलाई माथिल्लो तहको दवाब भन्दै प्रहरीले पक्राउ गर्न सकेको छैन । यो घटनाले गम्भीर प्रश्न उठेको छ । मध्यरातमा ठमेलको गल्लीमा गुण्डागर्दी गर्ने कस्तो राजनीतिक संस्कार सिकाइन्छ । रातिराति ठमेलका गल्लीगल्लीमा कुन चाहीँ राजनीतिक उद्देश्य पूरा गर्न विद्यार्थी नेता त्यहाँ पुगे ? प्रहरी सुरक्षित नभएको देशमा प्रधानमन्त्रीले कसरी नागरिक सुरक्षाको कुरा गरिरहेका होलान् ?’

राजनीतिक आडमा भइरहेको हप्ता असुली र गुण्डागर्दी बन्द गराउन उनले सरकारको ध्यानाकार्षण गराईन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्