काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले अध्यादेश सरकारको घाँटीमा अड्किएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई अध्यादेश घाँटीमा अड्केको हड्डिजस्तै भइराखेको टिप्पणी गरेका हुन् । उनले अध्यादेशहरु संसद्मा निर्णयार्थ पेश गर्न आग्रह गरे ।
‘मीठो कुरा पनि हतारमा खाँदा घाँटीमा अड्कियो भने त्यसको स्वादको अर्थ हुँदैन । आज अध्यादेश कहाँ अड्किरहेको छ ? त्यसलाई छिटो ल्याउनुपर्यो, विषय त छलफल गरौंला नि त । राम्रोलाई राम्रो भनौंला, नराम्रोलाई नराम्रो भनौंला । छलफल गरेर के गर्ने ? त्यसमा हामीले आफ्नो मत राखौंला । तर, घाँटीमा अड्केको हड्डिजस्तै भइराखेको छ, त्यसलाई निकाल्नुपर्यो,’– उनले भने ।
सरकारले अध्यादेश ल्याउन सक्ने उनले बताए । तर, पछिल्लो समय सरकारले ल्याएको अध्यादेशले कालाबजारी बढ्ने हो कि, सबै सरकारी जग्गा जमिन बाँडिने हुन् कि भन्ने जनतामा आतंक रहेको उनले बताए । ‘अध्यादेश ल्याउन हुन्छ, ल्याउन मिल्छ । त्यसभित्र के–के आयो भन्ने प्रश्न पो हो त । त्यसले कालोबजारी बढ्छ कि भन्ने जनतालाई आतंक छ । कतै सबै सरकारी सम्पत्ति बाँडिन्छ कि भन्ने शंका छ,’– उनले भने ।
अध्यादेशमा बहुमत पुर्याउन सरकारले सत्ताको लेनदेन गर्ने हो कि भन्ने आशंका पनि बढ्दै गएको उनले बताए । यद्यपि माओवादी उपमहासचिव शर्माले आशंका गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरिसकेको छ । File Photo/RN
प्रतिक्रिया