Logo

हजुरबुवाको पालामा सुरु भएको परियोजना नातिको पालामा पनि पूरा नहुने देश भयो नेपाल : सांसद महतो



काठमाडौं, २९ माघ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले सदनमा सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चल्ने गरेको भन्दै गुनासो पोखेका छन् । उनले सदनमा देशलाई समृद्धिको यात्रामा लैजाने विषयमा बहस हुन जरुरी रहेको आवश्यकत्ता औंल्याए ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महतोले सदनमा रचनात्मक प्रस्तुतिको अपेक्षा राखे । उनले नेपालमात्रै विश्वमा एउटा त्यस्तो देश बनेको जहाँ हजुरबुवाको पालामा सुरु भएको राष्ट्रिय गौरवको आयोजना नातिनातिनीको पालामा समेत पूरा नभएको भन्दै आलोचना गरे ।

उनले परियोजनाको घोषणा गर्दा गरिएको बजेट र समयको प्रक्षेपणसमेत लम्बिएर १०औं र २० औं गुणा बढि हुने गरेको गुनासो पोखे । हुलाकी राजमार्गको अवस्था अहिले त्यस्तै हालतमा रहेको उनको भनाई छ । उनले तराई/मधेशको लाईफलाईनको रुपमा लिएको हुलाकी राजमार्ग अहिलेसम्म निर्माण नहुनु दुःखदायी भएको टिप्पणी गरे ।

महतोले उक्त आयोजना समयमै सम्पन्न भएको भए मधेशका जनताले लाभ लिने थिए भन्ने धारणा राखे । तर, अहिले आयोजना सम्पन्न नहुँदा जनतालाई बेहाल अवस्थामा राखिएको महतोको गुनासो छ ।

२०८० कार्तिकमै सम्पन्न गरिने भनेर सुरु भएको कञ्चनपुर–कञ्चनपुर महेन्द्र राजमार्गको स्तरोन्नतीको काम पनि समयमा सम्पन्न नभएकोमा महतोको आपत्ति छ । उनले उक्त परियोजना अहिलेसम्म ५० प्रतिशतसम्म पनि पूरा नभएको भन्दै आक्रोश पोखे ।

महेन्द्र राजमार्गको स्तरोन्नतीको काम कछुवाको गतिमा भैरहेको भन्दै आफूलाई २० वर्षसम्म पनि परियोजना सम्पन्न हुने कुरामा शंका लागेको महतोको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्