Logo

कांग्रेस र एमालेले चाहँदैमा चाहेकैजस्तो ढंगले संविधान संशोधन अगाडि बढ्दैनः रघुजी पन्त



काठमाडौं, ३ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले कांग्रेस र एमालेले चाहँदैमा चाहेकै ढंगले. संविधान संशोधन अगाडि बढ्न नसक्ने बताएका छन् । आज (शनिबार) संविधान संशोधनसम्बन्धी सार्वजनिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभाको अंक गणितले अध्यादेश स्वीकृत गराउन गाह्रो परिरहेको अवस्थामा संविधान संशोधन सहज नरहेको बताएका हुन् ।

‘संविधान संशोधन साह्रै सहज पनि देखिरहेका छैनौं, सजिलो पनि देखिराखेका छैनौं । कांग्रेस र एमालेले चाहँदैमा चाहेकैजस्तो ढंगले संविधान संशोधन अगाडि बढ्ला भन्ने कुरामा प्रश्न छ । अहिले नै अध्यादेशको विषयमा राष्ट्रिय सभाको संख्याले कुनै पास हुने, कुनै पास नहुने खालको स्थिति देखिएको छ । तर, यो छलफल जरुरी र संशोधनको दिशातिर सर्वसम्मति वा संविधानले भनेझैं दुई तिहाइ बहुमतले गर्ने यो जरुरी छ,’– उनले भने ।

संविधान संशोधनको बहस चलाएर प्रक्रियामा अगाडि बढ्न भने आवश्यक रहेको उनले बताए । संशोधन नभएको खण्डमा संविधान नै नबच्ने उनले बताए । नेता पन्तले संसारका सबै चिजहरुमा समयानुकूल संशोधन आवश्यक पर्ने बताए । रिफर्म हुन नसकेकै कारण देशाबाट राजतन्त्र सधैंका लागि अन्त्य भएको र दलहरुको हकमा पनि त्यही लागू हुने उनको भनाइ छ ।

‘मेरो बुझाई के छ भने नेपालमा जुन संविधान संशोधन भएको छैन, त्यो संशोधन नभएको संविधान बाँचेको छैन । त्यसैले यो संविधानलाई बचाउन पनि, जुन संविधान संशोधन हुँदैन नि, जुन शक्ति रिफर्म हुँदैन नि, नेपालको राजतन्त्र रिफर्म भएन, गयो नि त । हामी पार्टीहरुको हकमा पनि त्यही हो । संविधान समयअनुसार संशोधन हुन सकेन भने त्यसको विरुद्धमा, यो चाहिएन भन्ने तहसम्म पुग्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्