काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याउँदा अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले हतार गरेकै कारण अहिले अध्यादेश जस्ताकोतस्तै पारित हुने अवस्था नबनेको बताएका हुन् । संघीय संसद्को दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने सन्दर्भमा भने सत्तारुढ दलहरु फराकिलो छलफलमा रहेको नेता विश्वकर्माले बताए ।
‘प्रतिनिधि सभामा बहुमत रहेको, राष्ट्रिय सभामा बहुमत नरहेको, यो परिस्थितिमा सरकारले सोच्नुपर्थ्यो । सबैसँग सरसल्लाह गरेको भए त यो कुरा उठ्दै उठ्दैन थियो । त्यो बेलामा हतार गरेको कारणले गर्दा अहिले अध्यादेश जस्ताको तस्तै पारित गर्ने कुरामा चाहीँ सरकार फराकिलो छलफलमा छ अहिले,’– नेता विश्वकर्माले भने ।
नेता विश्वकर्माका अनुसार विगत दुई तीन दिनमा सत्ता समीकरणमा रहेका प्रमुख दलहरुले सरकारको सहायक भूमिकामा रहेका, समर्थनमा रहेका र विरोधमा रहेका दलहरुसँग पनि अध्यादेशको बारेमा छलफल गरिरहेका छन् । प्रतिस्थापन विधेयकमार्फत अध्यादेशमा रहेका विषयहरु संशोधन गर्नेगरी अगाडि बढ्न सरकार लचिलो र फराकिलो बनिरहेको र त्यससन्दर्भमा मिहिन ढंगबाट छलफल भइरहेको उनले बताए ।
अध्यादेश ल्याउन पाउने कुरामा कुनै विमति नरहेको र यो प्रक्रिया संविधानसम्मत नै रहेको उनले बताए । भूमिसम्बन्धी अध्यादेशको सन्दर्भमा भने राष्ट्रपति रामचन्द्र पौडेलबाट नै केही आशंका व्यक्त भएको उनले सुनाए । राष्ट्रपति पौडेलले दलहरुको बीचमा मिहिन छलफल पछिमात्रै उक्त अध्यादेश आउनुपर्ने कुरा राखेको पनि उनले बताए ।
‘अध्यादेश ल्याउन पाउने भन्ने संवैधानिक प्रावधान छ । अध्यादेश संविधानबमोजिम छ, कानुनबमोजिम छ । यसबारेमा कसैको विमति छैन । भूमिसम्बन्धी अध्यादेशको विषयका बारेमा स्वयं राष्ट्रपतिज्यूले पनि अलि फराकिलो छलफल गर्नुपर्थ्यो भन्नुभयो,’– नेता विश्वकर्माले बताए ।
नेता विश्वकर्माले वर्तमान सरकारले सात महिनाको अवधिमा केही गर्न सकेन भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । अहिले गृहमन्त्रालयले हल्ला नगरी सुशासनको क्षेत्रमा काम गरिरहेको उनको दाबी छ । स्वास्थ्य मन्त्रालयले पनि निकै नै महत्वपूर्ण दर्जनौं राम्रो काम गरेको पूर्वमन्त्री विश्वकर्माले दाबी गरे ।
प्रतिक्रिया