
काठमाडौं, ४ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश भूमाफियाहरुको हितमा रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यो अध्यादेश देश र जनतको हितमा नरहेको दाबी गरेका हुन् । उनले यस अध्यादेश ल्याउनेबारे आफूहरुसँग कुनै छलफल र सल्लाह नभएको उनले बताए । देश र जनताको विरुद्ध रहेको अध्यादेशमा आफूहरु साथ दिन नसक्ने उनले बताए । भूमिसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिँदा उपयुक्त हुने उनको सुझाव छ ।
‘भूमिसम्बन्धी अध्यादेश देश र जनताको हितमा छैन । यसमा हामी सहयोग गर्न सक्दैनौं । यसलाई सरकारले फिर्ता लिओस् । पछि यसलाई विधेयकका रुपमा ल्याओस् । बाँकीमा हाम्रो केही रिर्जभेसनहरु छन्, रिर्जभेसनसहित हामी सहयोग गर्छौं । भूमिसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिनुपर्छ,’– उनले भने, ‘भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालको कुनै हालतमा सहमति हुँदैन, सहयोग गर्न सक्दैन । अरुको हकमा भने जसपा नेपाल बाधक छैन । फिर्ता लिनैपर्छ । देशको हितमा छैन, के गर्न खोजेको सरकारले ? भूमाफियाहरुको हितमा छ । यस्ता पनि विधेयक ल्याउछन् ? अनि यस्तोमा समर्थन खोज्ने ?’
हिजो (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेशको बारेमा आफूसँग फोन वार्ता गरेको उनले सुनाए । प्रधानमन्त्री ओलीसँग आफूले ‘भूमिसम्बन्धी अध्यादेश देश र जनताको हितमा छैन’ भनेको उनले सुनाए । अध्यक्ष यादवले अहिले जसपा नेपाल सरकारमा सहभागी नहुने पनि बताए । भूमिअध्यादेशको बदलामा सरकारमा जाने गल्ती आफूहरुले नगर्ने उनले बताए । भूमिअध्यादेश फिर्ता नभएको खण्डमा, जबरजस्ती पारित गराउन खोजिएको खण्डमा विरोध गर्ने र त्यतिबेला सरकारलाई दिइएको समर्थन फिता दिनेबारे पनि सोचिने उनले बताए । File Photo/RN