Logo

मधेशवादी दलहरुको मोर्चासँग झस्किए ओली, बढाए निगरानी



काठमाडौं, ४ फागुन । मधेशवादी दलहरुले आठ दलीय मोर्चा बनाएका छन् । उक्त मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, अशोक राईको जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी नेपाल र ब्रिजेशचन्द्र लालको तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) रहेका छन् । संविधान संशोधन, मेधशको पहिचान र अधिकारको लागि साझा एजेण्डा बनाएर अगाडि बढ्ने उक्त ८ दलीय मोर्चाको उद्देश्य रहेको बताइएको छ । सो ८ दलीय मोर्चाले पछिल्लो समय वार्ता र छलफललाई तीब्रतासमेत दिँदै आएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशवादी ८ दलीय मोर्चामाथि विशेष निगरानी सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो सत्तारुढ दलको बैठकमै मधेशवादी दलहरुको मोर्चा र यसको गतिविधिको बारेमा जिज्ञासा राखेका थिए । ओलीले उक्त मोर्चा कस्तो प्रकारको हो, के भइरहेको छ ? भन्ने प्रकारका प्रश्न गरेका थिए ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री ओलीले मोर्चाबारे जिज्ञासा राखेको बताए । उनले भने, ‘मधेशवादी दलहरुले मोर्चाबन्दीको सुरुवात गरे, एउटा कार्यदल गठन गरे । त्यसको बारेमा उहाँहको जिज्ञासा थियो । यो कुन प्रकारको गठबन्धन हो ? के भइरहेको छ ? कस्तो भइरहेको छ ? भन्ने कुरा गर्नुभयो ।’

प्रधानमन्त्री ओलीलाई मधेशवादी दलहरुले बनाएको मोर्चाबारे आफूले प्रष्ट पारेको पनि नेता खानले बताए । ‘यो कुनै सरकारविरुद्धको गठबन्धन होईन । यो सरकारलाई सहयोग गर्ने, भोलिका दिनमा संविधान संशोधन हुन्छ भने हामीले एकरुपताको साथ आफ्नो प्रस्ताव सरकारलाई दिनका लागि यो कार्यदल बनाएको हो । यसमा सरकारले चिन्ता लिनुपर्ने कुनै विषय छैन भनेर मैले प्रष्ट पारेँ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्