Logo

सतिश सिंह नेतृत्वको मधेश सरकारले सराहनीय काम गरिरहेको अब्दुल खानको दाबी, ओली-देउवाले नै प्रसंशा गरेको खुलासा



काठमाडौं, ४ फागुन । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले आफ्नो पार्टी नेतृत्वको मधेश प्रदेश सरकारले सराहनीय काम गरिरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शतिसकुमार सिंह नेतृत्वको मधेश सरकारले जंगली राज, बेथितिहरु र भ्रष्टाचार अन्त्य गरेको दाबी गरेका हुन् । नेता खानका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुले पनि शतिस सिंह नेतृत्वको सरकारको प्रसंशा गरिरहेका छन् । यस्तो अवस्थामा आफूहरु सरकारबाट बाहिरिने भन्ने प्रश्न नै नआउने उनको भनाइ छ ।

‘मधेश प्रदेश सरकारको कार्यशैलीप्रति सरकारका प्रमुख घटक दलहरुका नेताहरु सन्तुष्ट हुनुहुन्छ । मधेशमा जुन प्रकारको जंगली राज थियो, बेथितिहरु थिए, भ्रष्टाचार थियो । त्यसलाई चिरफार गरेर अहिलेको मधेश सरकार अगाडि बढेको छ । यो चाहीँ सराहनीय काम भएको छ । मधेशमा अहिले जनमत पार्टीको नेतृत्वको सरकार छ । त्यसमा अहिले कुनै प्रकारको बेथिति र अराजकता र अनियमितता नभएको चारैतिर प्रशंसा भइरहेको छ,’– उनले भने ।

नेता खानले आफूहरु सरकारले ल्याएको अध्यादेशमा सहयोग गर्न तयार रहेको बताए । भूमिसम्बन्धी अध्यादेशको सन्दर्भमा भने केही दिनमै कार्यदल गठन हुने र सोही कार्यदलभित्रबाट समाधान खोजेर स्वीकृत गराइने उनले बताए । हिजो (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सो सहमति बनेको उनको दाबी छ ।

‘अध्यादेशको विषयमा सबै नेताहरुको धारणा के भयो भने ५ वटा अध्यादेश अहिले सदनमा पेश गरेर पास गराउँ । भूमिसम्बन्धी अध्यादेशमा केही पार्टीहरुले विज्ञप्ति नै जारी गरिसकेपछि नेताहरुको पनि त्यसमा केही चासो र चिन्ता व्यक्त भएको हुनाले भूमि अध्यादेशवाहेक अरु पाँच वटा अध्यादेश दुवै सदनमा पेश गरेर पास गरौं भन्ने छलफल भयो । भूमिसम्बन्धी अध्यादेशमा एउटा कार्यदल गठन गरौं, कार्यदलले दिएको सुझावलाई समेत अंगिकार गरी सदनमा पेश गरेर पारित गरौं भन्ने छलफलसहित बैठक टुङ्गिएको हो,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्