Logo

कांग्रेस-एमाले सरकारसँग विधिपूर्वक ऐन ल्याउन सक्ने हुतीसम्म छैनः पूर्वप्रधानमन्त्री खनाल



काठमाडौं, ४ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारसँग विधिपूर्वक ऐन ल्याउने हुतीसमेत नरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) पार्टीनिकट समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले अहिले ल्याएको अध्यादेश पास हुने अवस्था पनि नरहेको बताए । उनले अध्यादेश फेल भएको अवस्थामा सरकार के हुने भन्दै प्रश्न उठाए ।

‘दुई पार्टीको अहिले अधिनायकत्व छ, सरकार छ । तर, देशमा स्थिरता छैन । एउटा ऐन विधिपूर्वक ल्याएर पास गर्नसक्ने हुती यो सरकारसँग छैन । अध्यादेश लिएर आउँछ, अब त्यो अध्यादेश पास हुने सम्भावना देखिइरहेको छैन । फेल भयो भने यो सरकार के हुन्छ ? के गर्छ ? यस प्रकारको अस्थिरताबाट राजनीति गुज्रिरहेको छ,’– उनले भने ।

साथै, आर्थिक रुपमा देश भयावह अवस्थामा रहेको, राष्ट्रियता खतरामा पर्दै गएको र सांस्कृतिक रुपमा वैदेशिक हस्तक्षेप बढ्दै गएको उनले बताए । कुनै पनि संगठनको नीति र नेतृत्व सही हुनुपर्ने उनले बताए । नीति र नेतृत्व सही नभएको खण्डमा के हुन्छ भन्ने कुरा अहिलेको एमालेलाई हेर्दा प्रष्ट हुने उनको टिप्पणी छ । नेता खनालले आफूहरुले नवौं महाधिवेशनबाट एमाले नीति सही नै बनाएपनि नेतृत्व भने सही आउन नसकेको बताए । नेतृत्वकै कारण अहिले एमाले लथालिङ्ग, भताभुङ्गको अवस्थामा पुगेको उनले बताए ।

‘नीति त सही बनाइन्छ । तर, नेतृत्व सही भएन भने त्यो पार्टी लथालिङ्ग हुन्छ, त्यो संगठन लथालिङ्ग हुन्छ । यसको पछिल्लो उदाहरण भनेको नेकपा (एमाले) हो, नेकपा हो । हामीसँग एक बेलामा १० लाख सदस्य भएको पार्टी बनेको थियो । यो देशको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दैगर्दै हामीले दुई तिहाइ प्राप्त गर्ने कम्युनिष्ट पार्टी बनाएका हौं । छ वटा प्रदेशहरुमा हामीले बहुमत प्राप्त गरेका थियौं । तर, त्यो आज टाइटाइ फिस भयो । के कारणले भन्दा गलत नेतृत्वको कारणले । एमालेको नवौं महाधिवेशनमा हामीले नीति त ठीकै निर्धारण गरेका थियौं । तर, नेतृत्व गलत हुनेबित्तिकै समस्या त्यस्तो हुँदोरहेछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्