Logo

प्रकाश ज्वालालाई प्रधानमन्त्रीको जवाफ: आफैँ मन्त्री हुँदा नगर्ने, अहिले प्रश्न गर्ने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्री हुँदा काम नगर्ने र अर्को सरकार आएपछि प्रश्न गर्ने परम्परा बसेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा प्रश्न राखेका एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाको प्रश्नमा जवाफ दिँदै ओलीले आफूले काम नगर्ने र अरुलाई प्रश्न सोध्ने अनौठो संस्कार रहेको बताए ।

‘मैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरेर काम सुरु गरेँ। त्यसको केही समयमै सरकार परिवर्तन भयो म बाहिरिएँ। त्यसपछि आउने सरकारले निरन्तरता दिएनन्। निर्माण रोकियो,’ उनले भने, ‘प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ। तीनवर्ष रद्ध गर्ने अनि कार्यक्रम किन सुरु भएन प्रश्न सोध्ने? हाम्रो अनौठोको संस्कार छ।’

ज्वालाले प्रधानमन्त्री ओलीको अघिल्लो कार्यक्रममा शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरु र पालिका अस्पतालको प्रगति हुन नसकेको बारे सोधेका थिए ।

प्रश्न थियो, ‘तपाईंले तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरु बजेटको अभावमा अलपत्र छन् भने पालिका अस्पतालहरु कतिका जगमात्र र कतिका पिलरमात्रै अस्थिपञ्जर जस्तै ठडिएका छन् । तिनीहरुका लागि बजेट व्यवस्था गरेर काम सम्पन्न गर्ने योजना के छ ?’



प्रतिक्रिया दिनुहोस्