Logo

भूमिसम्बन्धी अध्यादेश स्वीकृत गराउन अनेक लोभ लालच देखाइँदै छ, तर हामी सही कुराको मात्रै समर्थन गर्छौंः माधव नेपाल



काठमाडौं, ४ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दलहरुले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुमा दम्भ सवार भइरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) पार्टीनिकट समाजवादी प्रेस संगठनको कार्यक्रमलाईलाई सम्बोधन गर्दै उनले दम्भ सवार भएकै कारण कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान, ऐन, कानुन मिचेर अगाडि बढिरहेको बताएका हुन् । संसदीय समितिमा विचाराधीन रहेको विधेयकसमेत फिर्ता नलिइकन अध्यादेश ल्याइएकोमा आपत्ति जनाउँदै उनले कानुनको रक्षक हुनुपर्ने सरकार भक्षक भएको टिप्पणी गरे । वर्तमान सरकार दलाल, पुँजीपति र विचौलियाहरुलाई पोस्ने काम गरिरहेको अध्यक्ष नेपालले बताए ।

‘दुई पार्टी जुन अहिले सत्तामा छन्, उनीहरुमा दम्भ सवार भएको छ । त्यो दम्भ सवार भएको हुनाले संविधान, कानुन जे पनि मिच्न सकिन्छ भन्ने उनीहरुमा मान्यता विकास भएको छ । कतिपयलाई मुर्ख बनाउन सकिन्छ भन्ने ठानेर नै मुर्ख बनाउने कामहरु पनि विगतमा गरेका छन् । तर, यो असत्य धेरै समय टिक्दैन । हामी सबैलाई थाहा छ– संसद्को समितिमा विचाराधीन भएका विधेयकहरु फिर्ता नलिई अध्यादेश जारी गर्न पाइँदैन । त्यो कानुनको खुलेआम उल्लङ्घन गरेर सरकार अगाडि बढेको छ । कानुनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक भएको छ । संसद्को अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर अध्यादेश ल्याउने काम भएको छ । छ वटा अध्यादेश, ३० वटा कानुन संशोधन त्यसको पछाडि राम्रो नियत देखिँदैन,’– उनले भने ।

साथै, सरकारले राष्ट्रिय सभाबाट भूमिसम्बन्धी अध्यादेश स्वीकृत गराउन विभिन्न खालका प्रलोभन देखाइरहेको पनि उनले खुलासा गरे । तर, आफू सही कुराको मात्रै समर्थन गर्ने र कुनै पनि लोभ लालचमा नफस्ने उनले बताए । ‘राष्ट्रिय सभामा सख्या पुर्याउनका लागि लोभ लालच दिने कोशिस गरियो । फेरि नयाँ कोशिस जारी छ । हामी सही कुराको समर्थन गर्छौं, गलत कुराको विरोध गर्छौं । सबै कुरा अहिले भन्दैनौं । किनभने राजनीतिमा कतिपय कुराहरु हुन्छन् नि छलफल गर्दै जानुपर्छ । मूल नीति क्लियर छ, गलत कुरालाई साथ दिन सकिँदैन, सही नीतिमा उभिनुपर्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्