काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कानुनी व्यवस्थाअनुसार भ्रष्टाचारीलाई मृत्युदण्ड दिन नमिल्ने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने विषय उठान गरेका थिए ।
प्रधानमन्त्री ओलीले मृत्युदण्ड समस्याको समाधान नरहेको बताए । उनले मान्छेले नै गर्ने फैसलामा कहिलेकाही गल्ती पनि हुनसक्ने बताए । मृत्युदण्ड दिइसकेपछि उक्त फैसला सच्याउन नमिल्ने बताउँदै ओलीले कसैलाई ज्यान दिन र कसैको ज्यान लिन नसकिने बताए ।
‘कहिलेकाहीँ प्रमाण नपुगेको हुनसक्छ । प्रमाण फरक ढंगले देखिएको हुनसक्छ । फैसला उपयुक्त नहुनपनि सक्छ । मृत्युदण्ड दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन,’– प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया