विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किए एमालेका ८० प्रतिशत नेता/कार्यकर्ता उहाँको पक्षमा उभिन्छन् : अमरेशकुमार सिंह

3.8k
Shares

काठमाडौं, ५ फागुन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसभित्र अहिले उकुमुकुसको अवस्था रहेको टिप्पणी गरेका छन् । एमालेभित्र पनि त्यस्तै अवस्था रहेको उनको भनाई छ । उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएर आए एमालेका ८० प्रतिशत नेता तथा कार्यकर्ता भण्डारीकै पक्षमा उभिने दाबी गरे । आज विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

अहिले नेपाली जनतामा नैराश्यता बढेको सिंहको टिप्पणी छ । उनले भने,‘जनताले आशाको कहीँपनि ठाउँ देखिरहेका छैनन् । देशबाट युवाहरु पलायन भैरहेका छन्। सरकारकै संरक्षणमा पुँजीपनि पलायन भैरहेको छ । ठूला ठूला विचौलियाको नाममा सरकारी सम्पत्ति कौडीको भाउमा दिने काम भएको छ । सरकारमा बस्ने प्रधानमन्त्री र मन्त्रीहरुलाई कमिशन दिने, त्यो कमिशनपनि बाहिर नै सेटल हुने । यो अहिले नेपालको भ्रष्टाचार सिंगापुरबाट हुन्छ, दुवईबाट तय हुन्छ । बैंककबाट तय हुन्छ । यो बडा डरलाग्दो स्थिति छ ।’

उनले अहिले केपी शर्मा ओली र शेरबहादुर देउवा डरले एकअर्कासँग टाँसिएर बसेको आरोप लगाए । उनले भने,‘उहाँहरु रहरले होईन, खुशीले होईन डरले टाँसिएर बस्नुभएको छ । सरकारबाट बाहिरिनेबित्तिकै हामीलाई समस्या हुन्छ, जेल जानुपर्छ, मुद्दा लाग्छ भन्ने डर छ । किनभने भुटानी शरणार्थीमा शेरबहादुरजीको संलग्नता या भनौं उहाँको परिवारको संलग्नता छ, त्यो कुरा जगजाहेर छ ।’ जनताको फ्रस्टेशन बढ्दै गयो भने जनताहरु सडकमा आउन बेर नलाग्ने उनको टिप्पणी छ ।

Skip This