प्रधानमन्त्री ओलीको आरोप, ‘अर्थतन्त्र खोक्रो बनाउने माओवादी नै हो’

980
Shares

  • शरद रेग्मी

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अभियानलाई रोक्न विभिन्न षड्यन्त्र सुरु भएको बताएका छन् । नेकपा (एमाले) दाङले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा मुलुक समृद्धिको यात्रामा लम्किरहेको देखेर केही मान्छेहरु तर्सिएको बताएका हुन् । ‘समृद्धिको यात्रा र मलाई रोक्ने षड्यन्त्र सुरु भएको छ । देश बदल्ने नेतृत्व गर्ने जिम्मा मेरो हो’ उनले भन,‘मलाई कसैले रोक्न सक्दैन ।’

मुलुकमा सुरुङ युगमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले निकट भविष्यमा लमही–घोराही सडक खण्डमा सुरुङ मार्ग मार्ग निर्माण गर्ने बताए ।‘ मुलुक सुरुङ युगमा प्रवेश गरिसकेको छ । मैले हिजो सुरुङ मार्गको कुरा गर्दा हाँस्नेहरु आज सुरुङ मार्ग देखेर दङ्ग पर्ने गरेका छन’, ओलीले भने ,‘म अरुले जस्तो नहुने कुरा गर्दिनँ । भोलि नै यो हुन्छ भन्दिनँ । लमही–घोराही सडक सुरुङ मार्ग बन्छ । यो मेरै नेतृत्वमा हुन्छ ।’

दाङमा एयरपोर्टको समस्याबारे आफू जानकार रहेको भन्दै प्रधानन्त्री ओलीले भने ‘यो साल बजेट बिनियोजन भएको छैन । म यसै वर्ष एयरपोर्ट बन्छ भन्दिनँ । आउँदो वर्ष एयरपोर्टका लागि बजेट बिनियोजन गर्छौं । मेरै कार्यकालमा दाङ एयरपोर्ट बन्छ ।’

फरक प्रसङ्गमा बोल्दै एमालेका अध्यक्षसमेत रहेका ओलीले माओवादी नेतृत्वले देशको अर्थतन्त्रलाई कमजोर बनाएको आरोप लगाए । उनले भने‘देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा आफूलाई प्रधानमन्त्रीबाट हटाइएको भन्दै कुप्रचार गरिरहेका छन् । तर, प्रधानमन्त्रीसँग भ्रष्टाचारको फाइल हुँदैन । म पनि प्रधानमन्त्री छु, मसँग त छैन ।’

प्रधानमन्त्री ओलीले माओवादीले विदेशी शक्तिको इशारामा काम गरिरहेको आरोपसमेत लगाए । ,‘विदेशी इशारामा चल्नेहरू किनारा लाग्छन, लगाईन्छ’उनले भने,‘अर्थतन्त्र खोक्रो बनाउने माओवादी नै हो । एमालेले अर्थतन्त्र बलियो बनाउँछ ।’

यसैबीच, प्रधानमन्त्री ओलीले दाङको टरिगाउँ एयर्पोर्टको स्थलगत निरीक्षणसमेत गरेका छन् ।

Skip This