Logo

मैले पहल गरेर बनेको सरकारले लोकतन्त्रलाई अप्ठ्यारोमा पार्‍यो, देश एमालेकरण हुने खतरा छ: शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफैले पहल गरेर बनाएको वर्तमान सरकारले लोकतन्त्रलाई अप्ठ्यारोमा पारेको आरोप लगाएका छन् । मंगलबार पार्टीको भातृ संगठन नेपाल प्रेस युनियन शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उदघाटन सम्मेलनमा बोल्दै कोइरालाले आफूले नै सबैभन्दा धेरै पहल गरेर बनाएको नेकपा एमाले र नेपाली कांग्रेसको सरकारले नै देशलाई अप्ठ्यारोमा पारेको टिप्पणी गरेका हुन् ।

‘मैले पहल गरेर बनेको सरकार जसरी चल्दैछ,संसद् छलेर अध्यादेश ल्याउने जमर्को गरिराखेको छ,त्यसले लोकतन्त्रलाई अप्ठेरोमा पारिरहेको छ’ उनले भने, ‘अध्यादेश राम्रो छ कि छैन, कस्तो छ भन्ने कुरा त्यो पछिको कुरा हो । संसद् आउनुभन्दा छ दिन पहिला अध्यादेश ल्याइन्छ । के कारणले अध्यादेश ल्याएको हो ? अध्यादेश किन अर्जेन्सी पर्यो ? भन्ने कुरामा सरकारले जवाफ दिन जरुरी छ ।’

नेता कोइरालाले दुई दलीय संयन्त्र बनाएर देशभर अभ्यास गरिएको भन्दै आपत्ति जनाए । उनले दलीय संयन्त्र बनाएर शासन गर्ने कम्युनिष्ट शैलीले देश एमालेकरण हुन लागेको आरोप लगाए । उनले देशलाई एमालेकरण हुनबाट जोगाउन देशभरका कार्यकता एकजुट हुनुपर्ने र त्यसविरुद्ध खबरदारी गर्नुपर्ने बताए ।

‘लोकतन्त्र अप्ठेरोमा परेको छ । संयन्त्रले सरकार चलाउने कम्युनिस्ट देशमा मात्र हुन्छ,तर अहिले यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकेको छ । अब वडामा बाँकी छ । वडामा पनि संयन्त्र बनाएर चलाउने दुष्प्रयास उहाँहरूले गर्न खोजिरहनुभएको छ । बिस्तारै नथाहा पाउने किसिमले एमालेकरण भइरहेको छ भन्ने मलाई लागिरहेको छ’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्