
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सामाजिक सञ्जाललाई नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन नसक्ने बताएका छन् ।
मंगलबार पार्टीको भातृ संगठन नेपाल प्रेस युनियन शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उदघाटन सम्मेलनमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका नेता साउदले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक आवश्यक भएपनि वर्तमान सरकारले ल्याएको विधेयक हुवहु पारित गर्न नसकिने बताए ।
‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ । तर, नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन सक्दैन नेता साउदले भने, ‘पत्रकारका आवाजहरू बन्द गर्ने कदमविरुद्ध हामी पत्रकारका साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध हामी उभिनेछौँ ।’
नेता साउदले संसदलाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने पनि बताए। ‘कांग्रेस सरकारमा हुँदा पनि हामीले सात बुँदेको कार्यान्वयन गर्नेबारे र अध्यादेशको विषयमा पनि हामीले प्रश्न गरिरहेका छौँ,’ उनले भने, ‘संसदलाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न सक्दैन।’