
काठमाडौंको चन्द्रागिरि-३, थानकोटमा सम्पन्न पहिलो उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगितामा करिब २०० खेलाडीले प्रतिस्पर्धा गरेका छन्। नेपाल ट्रेडिसनल कुङ्ग फु सोसाइटीको आयोजनामा शुक्रबारदेखि सुरु भएको यो प्रतियोगिता दुई दिनसम्म चलेको थियो।
प्रतियोगिताको समापन समारोहमा सोसाइटीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक चन्द्र प्रसाद महर्जनले खेलकुदको माध्यमबाट शारीरिक तथा मानसिक सुदृढता अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए। साथै, उनले कुङ्ग फुको लोकप्रियता बढाउँदै यसलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजनाबारे जानकारी दिए।
प्रतियोगितामा विभिन्न विधामा ३२ स्वर्ण, ३२ रजत, र ४५ कांस्य पदकका लागि खेलाडीहरूबीच प्रतिस्पर्धा भयो। पदक तालिकामा दक्षिणकाली ट्रेडिसनल कुङ्ग फु शाखाले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हात पार्यो। थानकोट ट्रेडिसनल कुङ्ग फु शाखाले दोस्रो स्थान हासिल गर्दा मंगलोदय स्कूल तेस्रो स्थानमा रह्यो।









विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै आयोजकले आगामी दिनमा प्रतियोगितालाई अझ व्यापक बनाउने प्रतिबद्धता जनाएको छ।