Logo

संसद्मा नागरिकको एजेण्डाले स्थान पाउन छाड्यो, दुर्व्यसनीको अड्डाजस्तै बन्दै गयोः माओवादी नेता किराती



काठमाडौं, ६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सुदन किरातीले संसद्मा नागरिकहरुको एजेण्डाले स्थान पाउन छाडेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिले संसद् मिडिया खपतका लागि आरोप–प्रत्यारोप गर्ने थलोको रुपमा परिणत भएको बताए । केहीदिन अघि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमले संसद्को कुरुप चित्र दुनियाँमाझ देखिएको उनले बताए ।

सो प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् प्रभु साहले राखेको प्रश्नको जवाफ नदिई उल्टै प्रतिप्रश्न गरेका थिए । प्रधानमन्त्री ओली प्रश्नबाट भागेकोतर्फ लक्षित गर्दै नेता किरातीले अहंकार, अराजकता नभएर धैर्यता, संयमता, त्याग र उच्च नैतिकताको आवश्यकता रहेको बताए ।

‘हाम्रो संसद्मा नागरिकको एजेण्डाले स्थान पाउन छाड्यो । मिडियाको खपतका लागि आरोप–प्रत्यारोप गर्ने दुर्व्यसनीको अड्डाजस्तै संसद् बन्दै गएको छ । केहीदिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा हाम्रो कुरुप चित्र देखेर दुनियाँ हाँस्यो । सायद सभामुख महोदयलाई पनि भित्रभित्र लज्जाबोध भएको होला । आज मुलुकलाई अहंकार, अराजकता होईन, धैर्यता, संयमता, त्याग र उच्च नैतिकताको आवश्यकता परेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्