काठमाडौं, ६ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले सरकारले भूकम्प पीडितहरुको पीडामा खिसिटिउरी गरेको आरोप लगाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भूकम्प पीडित जिल्लाका जनताको पीडामा गम्भीर र जिम्मेवार बन्न नसकेको बताएका हुन् । प्रधानमन्त्री ओलीले जाजरकोटको भूकम्पपछि ११ हजार नक्कली भूकम्प पीडित खडा गरी राज्यबाट अनुदान लिन खोजिएको आरोप लगाएका थिए ।
प्रधानमन्त्री ओलीको आरोप खण्डण गर्दै नेता बस्नेतले भने, ‘भूकम्प प्रभावित बस्ती र जिल्लाहरुको पीडामा गम्भीर र जिम्मेवार बन्नुको साटो सरकार यहाँ पनि खिसीटिउरीको शैलीमा प्रस्तुत हुन्छ । विशेष परिस्थितिमा परिवार विस्तार हुन्छ र पुनर्संरचना पनि हुन्छ । २०७२ सालको भूकम्पपश्चात प्रभावित क्षेत्रमा परिवार संख्या कति बढेको थियो ? म प्रश्न गर्न चाहन्छु । संयोग प्रधानमन्त्रीज्यू त्यसबेला पनि सरकार प्रमुख हुनुहुन्थ्यो । किन दोहोरो मापदण्ड, किन भेदभाव ? अघिल्लो सरकारको निर्णयलाई बदलेर चार लाख दिने कुरा भएछ । जाजरकोट, रुकुमलगायतका जिल्लाका जनताहरुप्रति किन यस्तो उपेक्षा ?’
साथै, एमाले–कांग्रेससहितको गठबन्धन सरकारले संसद्भन्दा बाहिर रहेर राज्य सञ्चालन गर्न उद्धत भएको उनको आरोप छ । यो समस्याको समीक्षा र मूल्याङ्कन नगरी समस्या समाधानको बाटोमा अगाडि नबढ्ने उनको दाबी छ । ‘संसद्भन्दा बाहिर भएर सरकार राज्य सञ्चालन गर्न उद्धत भएको देखिन्छ । समस्याको चुरो कुरा यहीँ छ । यसमा समीक्षा नगरी मलाई लाग्छ, समस्या समाधानको बाटोमा अगाडि बढ्दैन,’– उनले भने ।
सरकारले कर्णाली प्रदेशका हुम्ला, मुगुलगायतको जिल्लाको बजेट पहिलो चौमासिक पूरा नहुँदै रकमान्तरण गरेको भन्दै उनले आपत्ति जनाए । बजेट खर्च हुनै नसक्ने अवस्था आइपुग्दा अन्तिम चौमासिकमा रकमान्तरण गर्न सकिने व्यवस्था स्मरण गराउँदै उनले सरकारले सामाजिक न्यायको धज्जी उडाएको बताए । सरकारले संसदीय मूल्य, मान्यताको सामान्य मान्यतालाई समेत लत्याउने काम गरिरहेको उनको आरोप छ ।
‘सरकार सामाजिक न्यायको कुरा गर्छ । तर, कर्णाली प्रदेशको हुम्ला, मुगुको बजेट पहिलो चौमासिक पूरा नहुँदै रकमान्तरण गर्छ । यहीँ हो सामाजिक न्याय ? सामाजिक न्याय त परको कुरा, सामान्य संसदीय मूल्य, मान्यतालाई पनि लत्याउने काम गरिरहेको छ । अनि भन्छ– तपाईँहरुलाई अनुभव पुगेन छ, हामीबाट सिक्नुस् । यस्तो अनुभव हामीलाई चाहिएको छैन,’– उनले भने । File Photo/RN
प्रतिक्रिया