Logo

वर्तमान सरकार मौरीजस्तै लगानशील र अचानोजस्तै सहनशील छः दयालबहादुर शाही



काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले कांग्रेस–एमालेसहितको वर्तमान गठबन्धन सरकारलाई ‘जनआन्दोलनकारीहरुको सरकार’ को संज्ञा दिएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको छाती हात्तीको जस्तो र छाला गैडाकोजस्तो रहेको बताए । उनले वर्तमान सरकार मौरीजस्तै लगानशील र अचानोजस्तै सहनशील रहेको दाबी गरे ।

‘जनआन्दोलनकारीहरुको यो सरकार, यसको छाती हात्तीको जस्तो छ । छाला गैडाको जस्तो छ, मौरीजस्तो यो लगनशील छ । अचानोजस्तो यो सहनशील छ । मिल्नेसँग नौनीको डल्लो छ, चिल्नेसँग बिच्छीको चल्लो छ,’– उनले भने ।

साथै, उनले कांग्रेसका त्यागी नेता स्वर्गीय गणेशमान सिंहको स्मरण गर्दै उनले नेताहरुले त्यस्तै त्याग गर्नुपर्ने धारणा राखे । नेकपा (माओवादी केन्द्र) तर्फलक्षित गर्दै उनले अहिलेका नेताहरुसँग धैर्यता नरहेको बताए । एक दुई पटक चुनाव हार्ने हो भने उनीहरु अमेरिका वा भारततिर पस्ने उनको टिप्पणी छ । उनले अत्याधिक लाभको पद धारण गरेका नेताहरु पनि सत्ता बाहिर पुगेपछि धारेहात लगाउने प्रवृत्ति बढेको बताए ।

‘गणेशमान सिंह जसले ३० वर्ष दुःख गर्नुभयो । १९७ सालदेखि २०१५ सालसम्म एउटा संघर्ष, अर्को फेरि ३२ वर्ष संघर्ष गर्नुभयो । प्रधानमन्त्री पनि खानुभएन । तर, त्यतिकै हालत हाम्रा साथीको हुने हो भने, दुई चुनाव हार्ने हो भने अमेरिका जान्छन् कि नोयडा जान्छन् कि कहाँ जान्छन् थाहा छैन । उधारो भन्ने चिज छैन । अझ रुवावासी छ, धारेहात छ, घृणाको व्यापार छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्