Logo

प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर



दमौली, असोज १० । बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका विकास योजनामा स्थानीयलाई रोजगारी दिने नीतिबमोजिम सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिएको गाउँपालिका रोजगार सेवा केन्द्र संयोजक शरणसिंह गुरुङले बताए ।

सडक ढलानका लागि आठ जना अदक्ष र चार जना दक्ष श्रमिकलाई रोजगारी दिइएको छ । सडक ढलान तथा कामदारको ज्यालाबापत रु चार लाख बजेट विनियोजन गरिएको छ । संयोजक गुरुङका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक तथा पानीको निकास निम्ति नाला निर्माण, चौतारा मर्मत, पैदलमार्ग निर्माण हुने गरेको छ ।

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चयन भएकाले न्यूनतम सय दिनको रोजगारी पाउँछन् ।



प्रतिक्रिया दिनुहोस्