Logo

दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि



गाईघाट (उदयपुर), १० असोज । नेपालीहरुको महत्वपूर्ण चाड दसैँ नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दसैँ नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढाउन थालेका हुन् ।

गाईघाट सङ्गमटोलका उपभोक्ता फिरन कार्कीका अनुसार दुई दिनअघिसम्म बजारका हरेका पसलमा खानेतेल प्रतिपाकेट एक सयका दरले पाउने गरिएकामा मङ्गलबारदेखि प्रतिपाकेट एक सय २० देखि एक सय २२ सम्म पर्ने गरेको छ । यसरी चाडपर्वको मौका पारेर व्यापारीले मूल्य वृद्धि गरिरहेका भन्दै उनले सरोकार भएका निकायले आवश्यक अनुगमन गरी मूल्य वृद्धि रोक्नुपर्नेमा जोड दिए ।

उपभोक्ता दीपा बस्नेतले चार दिन अघिसम्म मुसुरो दाल ९० देखि एक सय प्रतिकिलोका दरले पाइने गरेकामा मङ्गलबारदेखि प्रत्येक पसलमा एक सय २० देखि एक सय २५ पर्न थालेको जानकारी दिए । यसरी चाडवाडलाई लक्षित गरी व्यापारीले मूल्य वृद्धि गरेर उपभोक्तालाई समस्यामा पार्ने काम भएको उनको भनाइ छ ।

चामल, दाल, तेल, मसलालगायत दैनिक उपधोग्य वस्तुमा स्थानीय व्यापारीले मूल्य वृद्धि गर्दा कालाबजारी बढ्दै गएको गाईघाटका उपभोक्ताको गुनासो छ । उपभोक्ता श्याम दाहालले भने, “प्रत्येक वर्ष दसैँजस्तो महत्वपूर्ण चाडमा व्यापारीले मौका छोपेर दशदेखि पन्ध्र प्रतिशतसम्म मूल्य वृद्धि गर्दै आएका छन् । यस पटक ४० प्रतिशतभन्दा बढीका दरले मूल्य वृद्धि गरेर उपभोक्ताको ढाड सेक्न थालेका छन् ।”

सरोकार भएका निकायले यससम्बन्धी समयमा ध्यान दिएर अनुगमन गरी कालाबजारी रोक्नुपर्ने दाहालले बताए । दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धिसँगै सागसब्जी तथा फलफूल व्यापारीले पनि बुधबारदेखि करिब ४० प्रतिशतले मूल्य वृद्धि गरेका उनले जानकारी दिए ।

प्रतिकिलो ८० पर्ने हरियो सागसब्जीको मूल्य अहिले एक ३० देखि एक ४० सम्म पर्न थालेको त्रियुगा नगरपालिका–१० बोक्सेका उपभोक्ता रामबाबु बस्नेतले बताए । व्यापारीले एक पछि अर्को वस्तुको मूल्य वृद्धि गर्न थालेपछि बजार क्षेत्रमा उपभोग्य वस्तु किन्न नसक्ने अवस्थामा पुगेको आमउपभोक्ताले गुनासो गरेका छन् ।

मूल्य वृद्धिका बारेमा सोधिएको प्रश्नमा गाईघाटको पिजी चौकका व्यापारी विनोदले भने, “हामी साना खुद्रा व्यापारी हौँ, होलसेलरले मूल्य बढाएर सामान पठाएको छ । त्यसैले बढेको मूल्यअनुसार उपभोक्तालाई बिक्री गर्न बाध्य छौँ ।”

उपभोग्य वस्तुको अभाव भएकाले होलसेलले मूल्य बढाएर वस्तु पठाएकाले आफूहरुले वृद्धि गर्न बाध्य भएका साना खुद्रा व्यापारी बताउँछन् ।

उपभोक्ता देवराज थापाले भने, “ठूला व्यापारीको मनपरी तन्त्र छ, जतिबेला चाह्यो उतिबेला मूल्य वृद्धि गर्छन्, स्थानीय सरकार तथा प्रशासनले अनुगमन गरेर कारबाही गर्नुपर्छ । कारबाही नगर्दा कालोबजारी गर्ने व्यापारीको मनोबल बढ्ने गरेको छ ।”

यस विषयमा तत्काल स्थानीय प्रशासन, स्थानीय पालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घले मूल्य अनुगमन गरेर नियन्त्रण तथा कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । रासस



प्रतिक्रिया दिनुहोस्